विराटनगर : चाडपर्व नजिक मेला, महोत्सवले व्यापारिक चहल पहल बढाउने विश्वास गरिँदै आएकोमा विराटनगरको व्यापारीहरूले भने त्यसमा रोक लगाउन महानगरपालिका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्य बजार क्षेत्रको हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन  स्थानीय व्यापारीले माग गरेका हुन ।

उनीहरूले मेलाले व्यापारमा समस्या सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको बेला मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ ।

ज्ञापन पत्रमा ५० भन्दा बढी व्यापारीको हस्ताक्षर गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘असोजमा लगाउने भनिएको खाना मेलाले थप मार पार्ने हुँदा अन्यत्र सार्न जोडदार माग गर्दछौँ ।’

मेलाले व्यवसाय ठप्प हुने, आवत जावतमा असर पर्ने, मासुजन्य परिकारको गन्ध फैलिने हुँदा त्यस्तो मेला अन्य स्थानमा गर्न उनीहरूले सुझाव दिएका छन् ।

हिमालय रोडमा मञ्जिना मुभिज क्रिएसनबाट असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव गर्ने कुरा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।

व्यापारीहरूले गत वर्ष पनि मेला नलगाउन आग्रह गरेको स्मरण गराएका छन् । व्यापारी विनोद पोद्दारका अनुसार अर्को पाली हिमालय रोडमा मेला नलगाउने बचन दिइएमा फेरि यसपालि पनि मेला लगाउने भएकोले अन्यत्र सार्न आग्रह गरिएको हो ।

व्यापारी गंगाधर मैनालीको भनाई छ ‘रोड भनेको हिँड्नका लागि हो, पूरै सडक ढाकेर व्यापार गर्नका लागि होइन ।’ हिमालय रोडमा नयाँ संरचना बनेपछि व्यापारमा ६० प्रतिशत गिरावट आएको उनको भनाइ छ ।

हिमालय रोडमा पुस्तक, कम्प्युटर, मोबाइल, होटेल, चिया नास्ता, किराना, कपडालगायतका करिब ७५ वटा पसल सञ्चालनमा छन् । मैनालीका अनुसार ती सबै पसलमा ३५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नयाँ संरचनाले व्यापारमा गिरावट आएका बेला आर्थिक मन्दीले व्यापारीहरू प्रताडित भएको बेला  स्थानीय व्यापारलाई नै असर गर्ने मेला लगाउन नहुने लक्ष्मी अधिकारी बताउँछन् ।

गत वर्ष सोही संस्थाले आयोजना गरेको मेलामा सौन्दर्यीकरणका क्रममा रोपिएका बिरुवा भाँचिएको,सरसफाइ र भत्किएका संरचना नबनाइएको स्थानीयको गुनासो छ ।

एक–दुई सय प्लेट मःमका लागि, आयोजक र स्टलवालालाई केही फाइदाको लागि राज्यलाई सबै कर बुझाउने व्यापारलाई अवरोध गर्न नहुने व्यापारी श्रवणकुमार शर्माको भनाई छ ।

ज्ञापनपत्र बुझ्दै मेयर कोइरालाले स्थानीय व्यापारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । स्थानीय व्यापारीको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले मागप्रति गम्भीर रहेको बताए ।