इटहरी : स्वास्थ्य र शिक्षामा सर्वसाधारणको पहुँच स्थापित नभए सम्म मानव अधिकारको प्रत्याभूति हुन नसक्ने इटहरीमा बिहीबार आयोजित कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

उनीहरूले स्वास्थ्य सेवा हरेक व्यक्तिलाई निरोगी बनाउन सकिने र शिक्षाले सचेतना बढ्ने भएकाले मानवअधिकारको प्रत्याभूति दुई कुरामा अन्तर्निहित रहेको बताएका हुन ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका कार्यकारी प्रमुख डा.पशुपति चौधरीले ‘अहिले धेरै नागरिक असहिष्णु बन्दै गएकाले स-साना कुरामा झगडा हुने गरेको अवस्थामा मानव अधिकार र शान्ति सम्भव देखिन्न ।’

इटहरी-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मानव अधिकार तथा शान्ति समाज सुनसरीद्वारा आयोजित कार्यक्रममा उनले मानवअधिकार र शान्ति भए मात्र विकासले गति लिने बताए ।

नेपाली काँग्रेस सुनसरीका उपसभापति नागेशचन्द्र राईले मानव अधिकार र शान्तिले हरेक नागरिकलाई समानता, स्वतन्त्रता र प्रतिष्ठाको अधिकार प्राप्त गर्ने बताए । नेपाल महिला सङ्घ केन्द्रीय सदस्य गीता श्रेष्ठले कानुनी शासनको प्रत्याभूति गराउनु मानव अधिकार भएकाले सबैले त्यसलाई आत्मसात् गर्न आग्रह गरिन् ।

समाजका उपाध्यक्ष रोवनराज कार्कीले मानव अधिकार र शान्ति समाज सुनसरीले गरेका गतिविधि प्रस्तुत गरे । काँग्रेसका सुवेक्क्षु देवान, समाजका केन्द्रीय पर्यवेक्षक लक्ष्मीनारायण मिश्र, सन्तोष रौनियार, नेविसंघका प्रमोद भट्टराई, ओम गौतमले मानवअधिकारका बारे आफ्नो धारणा राखे ।

यसैबिच, मानव अधिकार तथा शान्ति समाज सुनसरीको नयाँ नेतृत्व चयन भएको छ । रोवनराज कार्कीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । कार्यक्रम समाजका जिल्ला अध्यक्ष डा.विकास साहको सभापतित्वमा भएको थियो ।

santi-samaj-2