धरान : इजरायली सेनाले उनीहरूले कब्जा गरेको प्यालेस्टाइन क्षेत्र वेस्ट बैङ्कको रमल्ला स्थित अल जजिरा टेलिभिजन कार्यालयमा आज आइतबार बिहान छापा मारेर कार्यालय ४५ दिन सम्म बन्द गर्न आदेश दिएको छ ।
सशस्त्र एवम् नकाब लगाएका इजरायली सैनिकहरू टेलिभिजनको लाइभ प्रसारण भइरहेको बेला अलजजीराको कार्यालयमा प्रवेश गरेको बिबिसीले समाचारमा उल्लेख गरेको छ ।
उनीहरूले अल जजिराको वेस्ट बैङ्क ब्युरो प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्ने लिखित आदेश थमाए । प्रत्यक्ष प्रसारण भइरहेको बेला त्यो आदेश पढेको दर्शकहरूले देखे र सुने ।
घटना लगत्तै ब्युरो प्रमुख ओमारीले अल जजीराद्वारा जारी टिप्पणीमा भनेका छन् ‘यो तरिकाले पत्रकारहरूलाई निशाना बनाउनुको उद्देश्य सत्यतालाई मेटाउने र आम जनतालाई सत्य कुरा सुन्नबाट वञ्चित गराउनु हो ।’
इजरायलले गत अप्रिलमा एउटा कानुन जारी गर्दै युद्धको बेला राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको विदेशी समाचार प्रसारण अस्थायी रूपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिएको थियो ।सोही कानुन प्रयोग गर्दे आइतबार अल जजिरामा हस्तक्षेप गरिएको बुझिएको छ ।
उक्त कानुन अनुसार विदेशी सञ्चार माध्यम ४५ दिन बन्द गर्न सकिने र समय थप्न सकिने व्यवस्था छ ।