धरान : धरान-१८ डिपोट स्कुलकी निम्तेन्जी तामाङ धरान स्कुल सिङ्गिङ प्रतियोगिताको शनिवार भएको फाइनल प्रतिस्पर्धामा विजेता घोषित भएकी छन् ।

उनी फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘धरान स्कुल सिङ्गिङ स्टार’ बनेकी हुन् । विजेता भएसँगै उनले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा नबोदय विद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फस्ट रनर अप बनेका छन् । उनले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनरअप भए । उनले ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पब्लिक मावि फुस्रेका ह्यापिसन लिम्बू थर्ड रनरअप भए । उनले १५०० नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको सबटाइटल विजेताहरूमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी निबा प्रेमी लिम्बुले वेस्ट परफरमेन्सको उपाधि प्राप्त गरिन् । केके  इन्टरनेसनल स्कुलकी कृषा रामदामले वेस्ट भोकलको उपाधि प्राप्त गरेकी छन् ।

नेपाल पुलिस स्कुलकी खुसीका दाहालले मोस्ट डिसिप्लिनको उपाधि प्राप्त गरिन् । ज्ञान कुञ्ज रेसिडेन्सियल स्कुलकी स्मृति बस्नेतले मस्ट एक्टिभको उपाधि हासिल गरेकी छन् । मेलोडियस भोइसको उपाधि डिपोट सेकेन्डरी स्कुलकी शोनिम विश्वकर्माले प्राप्त गरेकी छन् ।

जेनिथ इङ्लिस स्कुलका इस्मान विश्वकर्माले मोस्ट पङ्चुअल उपाधि प्राप्त गरे । वेस्ट सङ सेलेक्सनको उपाधि बुद्ध आदर्श बोर्डिङ स्कुलकी सुन्नीमा राईले हासिल गरिन् । शिक्षा सन्देश सेकेन्डरी स्कुलका लब्युस धमला र स्मृति राईले वेस्ट रिदम र इन्गेजमेन्ट अवार्ड प्राप्त गरे ।

देउराली चिल्ड्रेन एकेडेमीका पावल देवानले वेस्ट प्रेजेन्टेसनको उपाधि पाए भने सुनाखरी एकेडेमीकी जेशिका राईले फर्फेक्ट पिचको उपाधि प्राप्त गरेकी छन् ।

विजेताहरूलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा सहित प्रतियोगीताका सल्लाहकार उपप्राध्यापक राजेश विद्रोही, सभापति हिमाल कार्की, किरातेश्वर माविका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्गा, निर्णायकद्वय प्रशान्त शर्मा र प्रिया दोङ तामाङले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता र्‍याडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको हो । फाइनल चरणको कार्यक्रमको सञ्चालन मोडल एवम् कोरियोग्राफर मेरिना तुम्साले गरेकी थिइन् ।

प्रालिका अध्यक्ष तीर्थ कार्कीले कार्यक्रममा विद्यार्थीहरूको गायन प्रतिभालाई  प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको पहिलो अडिसन भदौ १९ गते भएको थियो । अडिसनमा धरान स्थित २८ विद्यालयका ५१ जना मध्ये ४१ जना दोस्रो चरणमा प्रवेश गरेका थिए । भदै २५ गते दोस्रो अडिसनबाट उत्कृष्ट १५ जना फाइनलमा प्रवेश गरेका हुन ।

redical-light-2