विराटनगर : प्रदेशको विकाश र आयोजनाहरुमा निजी क्षेत्रलाई संलग्न गराउन कोशी प्रदेश सरकार लगानी सम्मेलनको तयारीमा लागेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले लगानी सम्मेलनको अवधारणा सहित माघ ११, १२ र १३ गते पहिलो लगानी सम्मेलन गर्ने प्रस्ताव पारित गरेको छ।

लगानी सम्मेलनले प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिने विश्वास गरिएको छ।

प्रदेश सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख छ ।

सोही अनुसार लगानी सम्मेलन गर्ने तयारी अघि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। प्रदेश लगानी प्राधिकरणले सम्मेलनको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने बताइएको छ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड बजेट छुट्याएको छ। सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ ।

प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले सङ्घ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने बताइएको छ ।

लगानी सहरीकरणका लागि प्रदेश सरकारले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी पनि गरिएको छ । सम्मेलनको लक्ष्य पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मसात् गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने रहेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले बताए ।