धरान : सर्वोच्च अदालतद्वारा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अपहेलना गरेको ठहर गर्दै कैद सजाय गर्ने फैसलाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार श्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन/प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफी समेत मागिसकेको अवस्थामा अदालतबाट कैदको सजाय सुनाइएकोप्रति महासङ्घले वक्तव्य मार्फत ध्यानाकर्षण भएको जनाएको हो ।

वक्तव्यमा भनिएको छ ‘श्रोतबाट प्राप्त सामाग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चार सम्बन्धी नीति तथा कानुनले त्यस्तो व्यवस्था नगरेका अवस्थामा प्रकाशित सामाग्री गलत भएमा सच्याउने व्यवस्था पत्रकार आचार संहितामा गरिएको छ ।’

वक्तव्यमा भनिएको छ, सञ्चार माध्यमले माफी मागेर गलत सामाग्री हटाई सकेको अवस्थामा सम्मानित सर्वोच्च अदालतले आफैले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैले पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति महासङ्घको गम्भीर चासो र चिन्ता छ ।

‘महासङ्घ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दीर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

यसअघि आइतबार सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक/प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजायको फैसला सुनाएको छ ।

सर्वोच्चको बृहत् पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गानालाई ३/३ महिना कैद सजाय सुनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधिशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको वृहत् पूर्ण इजलासले सिधाकुरा डटकमले सत्य तथ्यको परीक्षण नगरी भ्रमपूर्ण सामाग्री पटक-पटक प्रसारण गरेकोले त्यसलाई हेलचक्य्राई मात्र भन्न नमिल्ने ठहर गर्दै कैद सजायको फैसला गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन् ।

patrakar-mahasang