धरान : कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन धरानमा नेपाली लेखक सङ्घले टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।
अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए ।
सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपाली लेखक सङ्घ २००८ सालमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ गोविन्द बहादुर मल्ल गोठाले लगायत नेपाल साहित्यका ऐतिहासिक पुरुषहरूले स्थापना गरेको जानकारी दिए ।
सुनसरी जिल्ला अध्यक्ष हर्ष सुब्बाले सङ्घ नेपालमा अभिव्यक्ति स्वतन्त्रता, लेखन र प्रकाशन स्वतन्त्रताको पक्षमा स्थापना भएको पहिलो संस्था भएको बताए । लेखक, रचनाकार, साहित्यकारहरूको हक हितको लागि स्थापना भएकोले सङ्घले उनीहरूको व्यवसायीक पक्षमा पनि आवाज उठाउने उनले बताए ।
बदलिदों समयमा ऐतिहासिक संस्था र यसको उद्देश्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नेपाली लेखक सङ्घलाई निरन्तरता दिदैं ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नारा अनुसार सङ्घ अघि बढेको उनको भनाई छ ।
टिकटमा कविता कार्यक्रमको टिकट दर २०० र १०० रुपैयाँ  राखिएको छ । टिकटबाट सङ्कलित रकमबाट कवि द्वयको सम्मान तथा कविता वाचनको पारिश्रमिक प्रदान गरिने सङ्घले जनाएको छ ।