धरान : नेपाल निर्माण व्यवसायी सङ्घ सुनसरीको धरान उपमहानगर शाखा समितिको अध्यक्षमा महेन्द्र प्रधान सर्वसम्मत चयन भएका छन् ।

उद्योग वाणिज्य सङ्घको सेमिनार हलमा आज मङ्गलवार भएको नगर अधिवेशनले प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनको अध्यक्षतामा २ जना सदस्य कार्यसमितिले मनोनीत गर्ने प्रावधान अनुसार ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्ष उत्तम कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष विजय तामाङ, महासचिव आशिष कटुवाल, सचिव विश्व लिङथेप, कोषाध्यक्ष नारायण लिम्बु र सदस्यहरू नरेश मगर, प्रकाश थापामगर र जयप्रकाश शर्मा रहेका छन् ।

यसअघि धरानमा सङ्घको इकाई समिति र त्यसको इन्चार्ज मात्र थियो । निकै समय पछि संशोधित विधानको व्यवस्था अनुसार धरान उपमहानगर शाखा समिति गठन गर्न अधिवेशन भएको हो ।

धरानमा पहिलो पटक २०४० सालतिर नेपाल ठेकेदार सङ्घ गठन भएको थियो । त्यसका संस्थापक अध्यक्ष गणेशलाल श्रेष्ठ थिए । धरानमा हाल ८५ जना निर्माण व्यवसायी तथा फर्म रहेका छन् ।

धरानमा बनेको सङ्घकै विस्तारको रूपमा पछिल्लो समय नेपाल निर्माण व्यवसायी महासङ्घ गठन भएको हो । महासङ्घका संस्थापक अध्यक्ष पनि श्रेष्ठ नै भएका थिए । २०४९ सालमा सङ्घको सुनसरी जिल्ला समिति इनरुवामा गठन भएको हो ।

अधिवेशनमा प्रमुख अतिथि महासङ्घका कोशी प्रदेश समिति अध्यक्ष जनसेवक भण्डारीले सङ्गठन बिना व्यवसायीका समस्याहरू राज्य समक्ष राख्न नसकिने भएको बताए ।

निर्माण व्यवसायमा लागेकाहरू अन्तिममा टाट पल्टिएको अवस्थामा पुगेको देखिने गरेको सुनाउँदै उनले भने ‘पछिल्लो समय प्रतिस्पर्धा बढेको छ र त्यसले जोखिम अरू बढाएको छ ।’ तर राज्य पक्ष र सर्वसाधारणले ठेकेदारको समस्या बुझ्ने नगरेको उनको भनाई छ ।

धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघाले निर्माण व्यवसायीहरूमा हुने अस्वस्थ्य प्रतिस्पर्धाले विकास निर्माणका कार्यहरू प्रभावित हुने गरेको बताउँदै भने ‘निर्माण कार्यको लागत स्टमेट भन्दा ४०/४५ प्रतिशत ‘बिलो’ मा टेण्डर पाएकाहरूको काम कि कमसल हुने कि काम बिचैमा छाड्ने गरेका छन् ।’ तर धरानमा भने त्यस्तो व्यवसायीहरू नभएको उनको भनाई थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरान-तरहरा सडकको उदाहरण दिदैं भने ‘सबैले ठेकेदारको मात्र खोट देख्छन्, काम ढिलो हुनुमा समयमा रकम भुक्तान नगर्ने राज्य पक्ष पनि उत्तिकै दोषी छन् ।’

मुलुकमा सबै भन्दा धेरै रोजगारी दिने निर्माण व्यवसायीको संरक्षण गर्ने नीति अहिले सम्म नबनेको उनको भनाई थियो ।

नवनिर्वाचित अध्यक्ष महेन्द्र प्रधानले निर्माण व्यवसायीले सामना गर्दै आएका समस्या सम्बन्धित पक्षमा समाधानका लागि प्रभावकारी ढङ्गमा पहल गर्ने प्रतिबद्धता जनाउँदै निर्माण व्यवसायीहरूको साझा हितका लागि नवगठित कार्यसमितिले परिणाममुखी कार्यक्रम तय गर्ने बताए ।

जिल्ला समितिका अध्यक्ष ऋतीराज कार्कीको सभापतित्वमा भएको अधिवेशनमा उनले सर्वसम्म कार्यसमितिको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अधिवेशनका सहभागीहरूको सर्वसम्मति समर्थन भएपछि नयाँ कार्यसमिति गठन भएको हो ।

अधिवेशनमा तत्कालीन धरान नगर समितिका इन्चार्ज दिवस राई, जिल्ला समितिका सचिव तेजकुमार लिम्बु, वरिष्ठ पत्रकार हर्ष सुब्बाले अधिवेशनको सफलताको शुभकामना प्रकट गरेका थिए । सञ्चालन तिलविकम कन्दङवाले गरेका थिए ।