धरान : विश्वमा युद्ध उन्मादका कारण राज्य शक्तिले मानवीय मूल्यप्रति कुनै समवेदना राख्दैन भन्ने देखिँदै आएको छ । युद्धमा होमिने परिस्थितिमा बढ्ने शत्रुता जनस्तरमा पुग्दा सर्वसाधारणमा देखिने युद्ध उन्माद मङ्गलवार इरानमा देखिएको छ ।

इजरायल विरुद्ध मङ्गलवार इरानले मिसाइल आक्रमण गरेपछि सर्वसाधारणले राजधानी तेहरानको सडकमा उत्रिएर हर्षोल्लास पूर्वक उत्सव मनाएका छन् ।बीसीसीका अनुसार केही इरानी बेलायती दूतावास बाहिर जम्मा भएर उत्सव मनाएको पनि देखियो । उनीहरू मध्ये केहीले इजरायली आक्रमणमा मारिएका हिज्बुल्लाह नेता नसरल्लाहको तस्बिर बोकेका थिए । उनीहरू सडकमा पटेका पड्काउँदै फुलझडी जलाउँदै उत्सव मनाई रहेका थिए ।

इरानले मङ्गलवार अबेर राती इजरायल तर्फ सयकडौँ मिसाइल प्रहार गरेको थियो । यो इजरायल माथि इरानको दोस्रो हमला हो । यसअघि इरानले गत अप्रिलमा इजरायलमा ड्रोन र मिसाइल हमला गरेको थियो ।

इजरायली सेनाका अधिकारीहरूले भने 'इरानको हमला सकियो,अब कुनै खतरा छैन ।' तर, यो हमलाले कहाँ कति क्षति पुर्‍यायो स्पष्ट हुन सकिएको छैन । इजरायली विदेश मन्त्रालयले भने इरानले मङ्गलवार १८१ व्यालेष्टिक मिसाइल हमला गरेको जनाएको छ । यसबाट १ जना प्यालेस्टाइनी मारिएका छ । 

इरानी हमला लगत्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्यायुले भने ‘इरानले आज एउटा ठुलो गल्ती गर्‍यो, उसले यसको मूल्य चुकाउनु पर्दछ ।’ मन्त्री परिषद् बैठकमा उनले इजरायल नियममा कायम रहनेछ, हामीलाई जसले हमला गर्छ, उसमाथि हामी पनि हमला गर्छौ भनी बताएका छन् ।