धरान : प्रहरीले इटहरी-१८ का २५ वर्षीय सन्दीप राई, वराहक्षेत्र-६ का २९ वर्षीय सन्देश राई, रामधुनी-५ का २६ वर्षीय राज भुजेललाई मङ्गलवार प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रामधुनीको प्रहरी टोलीले झुम्कामा पक्राउ गरेको हो । उनीहरूबाट स्पासरेस्ट ३०७ क्याप्सुल, ट्रामाडोल ३८ क्याप्सुल, डिकोलिक १३ क्याप्सुल बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही दिन लागुऔषध बोकेर भारतबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगर-१५ बाट मोरङ सुन्दरहरैँचा-४ का २१ वर्षीय विवेक ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरीले विवेकबाट निट्राजेपाम ट्याब्लेट १०० चक्की बरामद गरेको छ ।

यसैगरी लहानबाट गाईघाट आउँदै गरेको प्र २-०३-००१ ज ०११४ नम्बरको विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा-१० का २० वर्षीय सङ्गम भुजेल र २२ वर्षीय सङ्गम राईलाई लागुऔषध सहित पक्राउ गरिएको छ ।

प्रहरी चौकी लालपत्ता उदयपुरको प्रहरी टोलीले उनीहरूबाट २७ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । पक्राउ परेकाहरूको सम्बन्धित इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।