धरान : अण्डर-१९ थ्रीबाइथ्री बास्केटबल प्रतियोगिताको च्याम्पियनको उपाधि आयोजक इमोर्टल क्लबले चुमेको छ ।

प्रतियोगितामा धरानका २१ टिम बास्केटबल टिम सहभागी थियो । सेमिफाइनलमा इमोर्टलले ब्रर्दश क्लबलाई १३-१२ र मिराकल क्लबले होलिल्याण्ड स्कुललाई ९-४ अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपविजेता मिराकल क्लब बन्यो । धरान रङ्गशाला इण्डोर बास्केटबल कोर्टमा शनिवार भएको प्रतियोगिता मौसमको कारण फाइनल खेल हुन नसके पछि आइतबार सारिएको थियो ।

प्राविधिक कारणले मिराकल क्लबले आइतबार फाइनल खेल खेल्न नसके पछि इमोर्टल क्लबलाई विजयी घोषित गरिएको थियो ।

विजेता इमोर्टल क्लबले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता नगद ५ हजार, ट्रफी, मेडल प्राप्त गर्‍यो ।

प्रतियोगिताका उदयिमान खेलाडी इमोर्टल क्लबका सितम लिम्बू र उत्कृष्ट खेलाडी इमोर्टल क्लबकै पारुहाङ लिम्बू घोषित भए । उनीहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपबिजेता टिमलाई कोशी प्रदेश मुख्य बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र इमोर्टल क्लबका अध्यक्ष रोशन राईले आइतबार पुरस्कार वितरण गरेका थिए ।