प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

धरानको दन्तकाली मन्दिरमा आजदेखि नवरात्र विधि अर्थात् तान्त्रिक र वैदिक विधिद्वारा दन्तकाली भगवतीको पूजा हुंदैछ ‌। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाका लागि शुभ साइत बिहान ९ बजेर १६ मिनेटको रहेको छ ।

आजको दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । बिहानको नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई  विधिपूर्वक जौ (यव) रोप्ने गरिन्छ ।

जौको अङ्कुर भगवतीका लागि प्रिय भएकाले देवीको प्रसादका रूपमा ग्रहण गर्न जौका अङ्कुर उमार्ने गरिन्छ । यसरी उम्रिएका जौका अङ्कुरहरू समृद्धिको प्रतीक मानिन्छन्।

नवरात्रका नौ दिनमध्ये पहिलो शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैटौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

नवरात्रिका सम्पूर्ण नौ दिन नै भगवतीको आराधना गरिन्छ तर यी मध्ये पनि पहिलो दिन घटस्थापना, सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा मनाइन्छ ।

आज नवरात्रिको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । घटस्थापनाका दिन शैलपुत्री देवीको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनकामना पूर्ण हुने विश्वास गरिन्छ ।

यस वर्षको दशैंको टीका असोज २६ गते शनिवार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।