धरान : बराहक्षेत्रका पत्रकार हिमाल राई र रेडियो धरानकी देवीका चाम्लिङ राईलाई किरात राई पत्रकार सङ्घले पुरस्कृत गरेको छ ।

सङ्घको १७औँ स्थापना दिवस मनाउन आज बिहीबार आयोजित कार्यक्रममा सङ्घको सुनसरी कार्यसमितिले पत्रकारद्वयलाई पुरस्कृत गरेको हो ।

चतरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका हिमाल राई नगद ७ हजार ५ रुपैयाँ सहित चन्द्रकला राई स्मृति पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन् । पुरस्कार यायोक्खा धरान-१३  प्रारम्भिक कमिटी अध्यक्ष श्रीपाल राईले स्थापना गरेका हुन ।

रेडियो धरानकी सञ्चारकर्मी देवीका राईलाई विद्या कुमारी राई स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन । उक्त पुरस्कार किरात राई यायोक्खा धरान-१३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरेका हुन ।

पुरस्कृतद्वयलाई प्रमुख अतिथि किरात राई पत्रकार सङ्घ केन्द्रीय उपाध्यक्ष विशाल राई, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, किराँत राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, आदिवासी जनजाति महासङ्घ धरानका सुवास राईले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सञ्चारमा पहिचान, मातृभाषाको पहुँच पुर्‍याउन सृजनशील पत्रकारिता गर्दै प्रदेश १ को पूनः नामकरणका लागि अग्रसर हुन पत्रकारहरूलाई वक्ताहरूले आग्रह गरे ।

स्थापना दिवसमा पत्रकार स्वर्गीय सञ्जीव राईको सम्झनमा मौन धारण गरिएको थियो । कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष वसन्त बान्तवा राईले गरेका थिए ।

KIRAT-RAI-PATRAKAR-2