इटहरी : आफ्नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा २१ वर्षीया अस्मिता पौडेल (कार्की) कारागार चलान भएकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ७ बस्दै आएकी अस्मितालाई पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले अस्मितालाई थुनामा राखेर थप अनुसन्धान गर्न आदेश दिएका छन् । २ छोरीलाई विष खुवाएर फरार भएकी अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति अर्जुन कार्कीसँग विवाद भएपछि अस्मिता छोरीहरू लिएर हिँडेकी थिइन् । भदौ १४ घर छाडेकी अस्मिताले १ र ३ बर्षिया छोरीहरूलाई केराबारीमा छाडेर भागेकी हुन् । भदौ १५ गते दिउँसो नारायण न्यौपानेको केरा बगानमा बालिकाहरू मृत फेला परेका थिए ।

पतिले ‘टर्चर’ सहन नसकेपछि नानीहरूलाई लिएर हिँडेको केही बेरमा आफूले विष खाएको र उनीहरूलाई पनि खुवाएको अस्मिताको बयान छ । तनाव सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडेको र एक्लै मर्न मन नलागेपछि छोरीहरूलाई विष खुवाएको उनले बताएकी छन् ।