दमक : झापाको दमक र गौरादह नगरपालिका साथै कमल गाउँपालिकाको क्षेत्रमा निर्माण हुने भनिएको नेपाल चीन मैत्री औद्योगिक पार्कको जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित यस अघिका दुई वटा सङ्घर्ष समिति बिच एकीकरण गरेर मूल समिति गठन गरिएको छ ।

यस अघि रतुवा खोलाको पूर्व पट्टि कमल गाउँपालिकाको वडा नम्बर ७ र गौरादह नगरपालिकाको वडा नम्बर ५ क्षेत्रलाई समेटेर गठन गरिएको सङ्घर्ष समिति र रतुवा खोला पश्चिम दमक वडा नम्बर १० का पीडितहरूले गठन गरेको सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए ।

यी दुवै समितिको दमकमा भएको एक भेलाले संयुक्त सङ्घर्षका कार्यक्रमहरू अघि बढाउने गरी दमकका पूर्व वडा अध्यक्ष खगेन्द्र बहादुर भट्टराईको अध्यक्षतामा दमक औद्योगिक पार्क सरोकार मञ्च गठन गरेका हुन ।

मञ्चको उपाध्यक्षमा देवी प्रसाद दाहाल र कमला बस्नेत छन् । त्यसैगरी सचिव टङ्क प्रसाद न्यौपाने, सह सचिव मोहन सुब्बा र कोषाध्यक्ष रोमनाथ भण्डारी चयन भएका छन् । समितिका सदस्यहरूमा धर्मानन्द सेडाईं, भक्तबहादुर विष्ट, बदी राई, शुभद्रा जोशी, प्रेमबहादुर श्रेष्ठ छन् ।

दुवै समितिले आ-आफ्नो तरिकाले सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि अब भने एकीकृत भएर आफ्ना मागहरूको बारेमा सरकारलाई दबाब दिने उद्देश्यले खगेन्द्र बहादुर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय दमक औद्योगिक पार्क सरोकार मञ्च गठन गरिएको सल्लाहकार समिति संयोजक डा. खगेन्द्र पाण्डव अधिकारीले जानकारी दिए ।

अधिकारीको संयोजकत्वमा गगन पुरी, हेम सुवेदी, राजेन्द्र भण्डारी, धनराज सुब्बा, प्रकाश प्रसाईँ, रबिन गुरुङ, परशुराम कार्की र लोमनाथ भण्डारी सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

यस अघिका दुवै समितिले सर्वोच्च अदालतमा जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै मुद्दा दायर गरेको साथै आ -आफ्नो तरिकाले आन्दोलन र दबाबका कार्यक्रमहरू गर्दै आएकोमा अब एकीकृत रूपमा दबाब कार्यक्रम अघि बढाउने समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

चीन सरकारको ‘बिराआई ’ परियोजना अन्तर्गत करिब ६५ अर्बको लगानी रहने भनिएको उक्त औद्योगिक पार्क निर्माणका लागि आफ्नो सदियौँ वर्ष पुरानो हक भोग कायम रहेको जग्गाको मुआब्जा वितरणमा सरकारले लापरबाही गरी सर्वसाधारणलाई उठिबास लगाउन आँटेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले समिति गठन गरी आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।