धरान : कोशी ग्यास कम्पनीको सिलिण्डरमा १० किलो कम ग्याँस भएको पाइएको छ। उपभोक्ताले आफू ठगिएको उजुरी गर्ने ठाउँ नपाएपछि मिडियालाई ठगिएका कुरा बताएका हुन ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले चाडपर्वको बेलामा पनि दैनिक उपभोग्य वस्तुहरुको बजारमा अनुगमन नगर्दा उपभोक्ताहरू ठगिने गरेका छन् ।

धरान-१२ चतरा लाइनको कोशी ग्यास कम्पनीको डिलर सुभम सप्लायर्स डिलरबाट खरिद गरेको कोशी ग्याँसको सिलिण्डरमा १० किलो कम ग्याँस भएको पाइएको हो ।

खाना पकाउन भान्सामा प्रयोग हुने सिलिण्डरमा २९ किलो ७ सय ग्राम ग्यास हुनु गर्दछ । धरान-१२ का ध्रुव श्रेष्ठले खरिद गरेको एक सिलिण्डरमा १९ किलो ७ सय ग्राम मात्र ग्यास भएको बताए ।

उनले भने, ‘ग्याँस खरिद गरेर ल्याई चुल्होमा जोड्न खोज्दा १९ किलो ८ सय ग्राम मात्र भएको थाहा पाइयो ।’ एक सिलिण्डरमा २९ किलो ७ सय ग्राम हुनुपर्नेमा १० केजी नै कम रहेको उनले बताए ।

उनले धरान-१२ मा चतरा लाइनमा रहेको सुभम सप्लायर्सबाट कोशी ग्याँस लिएका थिए । बजार अनुगमन गरेर परीक्षण नगर्दा धेरै ठगिने गरेको उनको भनाई छ ।

कम ग्याँस भएका सिलिण्डर बिक्री गर्नेलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन् । उनले उपभोक्ता ठगिएको अवस्थामा उजुरी गर्ने ठाउँ स्थानीय सरकारले जानकारी नगराएको हुँदा मिडियालाई बताउनु परेको समेत उल्लेख गरे ।

सुभम सप्लायर्सका सञ्चालक सुभद्रा बरालले भने कम नहुनुपर्ने दाबी गरिन । उनले भनिन ‘त्यस्तो नहुनुपर्ने, हिजो मात्र कम्पनीबाट झारेको हो, मेसिनले नै भरेर पठाउँछ, कम हुँदैन, म जोखेर नै दिने गर्छु ।’ धेरै दिन राखेमा लिक भएर कम हुन सक्ने उनको भनाई छ ।

अनुगमनका विषयमा बुझ्नलाई फोन सम्पर्क गर्दा बजार अनुगमन समितिका संयोजक धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघा र बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटा दुवैको मोबाइल फोन उठेन ।