इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो समय आएको बाढी र पहिरोबाट भएको क्षतिको विवरण सहित सरकारलाई राहत तथा पुनर्स्थापनाको लागि सचेत गराएको हो ।
कोशी प्रदेश सभापति उद्धव थापा तथा तथा महामन्त्री उमेश थापा सहितको टोलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ज्ञापन पत्र बुझाएका छन् ।
असोज ९ देखी १२ गतेसम्मको अविरल बर्सातको कारण कोशी प्रदेशमा २० जनाको मृत्यु र ७ जना बेपत्ता भएको जनाइएको छ । ६२१ विस्थापित परिवारका २०६४ नागरिकलाई पुनर्स्थापनाको माग गर्दै काँग्रेसले ३४ वटा पुलको मर्मत गर्न आग्रह गरेको हो ।
कोशी प्रदेशभरि १ अर्ब ११ करोड २० लाखको क्षति भएको जानकारी सहितको पत्र प्रदेश सभापति थापाले मुख्यमन्त्री कार्कीलाई प्रदान गरेका हुन् । नेपालीहरूको महान् पर्व दसैँ आइरहेको अवस्थामा आवतजावतमा समस्या भएको भन्दै त्यसको व्यवस्था मिलाउन काँग्रेसले माग गरेको छ ।
काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार सङ्घीय सरकारले मात्र सम्पूर्ण निर्माण तथा पुनर्स्थापना गर्न ढिला हुने भएकाले प्रदेश सरकारलाई अनुरोध गरिएको हो । विपन्न नागरिक र घरबार विहीनलाई सबैभन्दा चाँडो वैकल्पिक व्यवस्था गरी लत्ताकपडा र खाद्यान्न दिन भनिएको उनले बताए । 
सरकारको एक निर्णय र निर्देशनमा धेरै नागरिकले राहत पाउन सक्ने उनको भनाइ छ । ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले सरकार गम्भीर रहेको र सक्ता साझेदार दलको हिसाबमा काँग्रेसले पनि सहयोग गर्नुपर्ने भनाइ राखेको थापाले जानकारी दिए ।
Congress-gyapan