विराटनगर : कोशी प्रदेशको स्वास्थ्य सेवामा विद्यमान समस्या समाधानका लागि स्वास्थ्यकर्मीहरूलाई संवेदनशील बनाउँदै सुधार ल्याउन प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आइतबार प्रदेश स्वास्थ्य मन्त्रालयको समीक्षा गोष्ठी उद्घाटनको अवसरमा उक्त जानकारी दिएका हुन । ३ दिने गोष्ठीमा स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गरिने छ ।

मुख्यमन्त्री कार्कीका अनुसार कार्यदल डा. महेन्द्र श्रेष्ठको अध्यक्षतामा गरिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्दै विद्यमान स्थितिमा सुधार गरी जनतालाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।

उनले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताए । उनले भने  ‘मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेकोले ऐन ल्याएर अझ व्यवस्थित गरिने छ ।’

स्वास्थ्य सेवाको सुधारको सन्दर्भमा प्रदेशको स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक रहेको बताउँदै कार्यदलले त्यसतर्फ ध्यान दिने उल्लेख गरे । मुख्यमन्त्रीले भने ‘स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका बाबजुद नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ ।’

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्रीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रूपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधन स्रोतको अभाव, क्षेत्राधिकारका कारण सोच अनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई सङ्घीय सरकार भन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरू लाग्नु पर्नेमा जोड दिए ।

उनले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्ड अनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न  सहयोग पुग्ने धारणा प्रकट गरे ।

तीन दिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालय प्रमुखहरू सहभागी छन् ।