इटहरी : बलात्कार मुद्दामा फसाई दिने भन्दै ललितपुर भैसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीसँग मिलेर ३० लाख असुल्ने इटहरीकी भिमादेवि थापा पक्राउ परेकी छन् । एक व्यवसायीलाई प्रभागकै हिरासतमा थुनामा राखेर ३० लाख असुली गरेको घटना बाहिर आएपछि थापा पक्राउ परेकी हुन् ।

सोही प्रकरणमा यसअघि नै सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको प्रहरीले थापालाई गत बिहीबार पक्राउ गरेको हो । व्यापारीले दिएको ३० लाख मध्ये इटहरीकी थापाको खातामा २० लाख जम्मा भएको पाइएको छ । 

भैँसेपाटीमा भेट्न बोलाएको बेला ती व्यापारीलाई प्रभागको प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर युवतीले ६० लाख रुपैयाँ मागेको व्यापारीले बताए । पछि ३० लाख रुपैयाँमा सहमति भएपछि ती व्यापारीले फस्न सक्ने डरले पैसा बुझाएको उनले प्रहरीलाई बयान दिएका छन् ।

३० लाख मध्ये २० लाख रुपैयाँ खातामा जम्मा गरेको र १० लाखको चेक दिएका थिए । प्रहरीले चेक समेत बरामद गरेको बताएको छ । घटनाको विषयमा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको छ । हाल प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएपछि उनलाई निलम्बन गरिएको छ ।