धरान : वराहक्षेत्र नगरपालिकाको नडाहा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको आइतबार साँझ सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मोरङको बेलबारी-८ चिसाङ पुल नजिकमा कार र मोटरसाइकल ठोक्किँदा राई गम्भीर घाइते भएको थिए । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी जवान राईले हाँकेका थिए । पूर्वतिर जाँदै गरेको प्रदेश ३-०१-०२४ च ०७३४ नम्बरको कार र पश्चिमतिर आउँदै गरेको प्रदेश १-०२-०४४ प ४९९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डिएसपी जोशीले बताए ।
गम्भीर घाइते अवस्थामा राईलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याएईको थियो । अस्पताल ल्याई पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मृतक प्रहरी जवानको घर सङ्खुवासभाको सिलिचुङ गाउँपालिका-२ हो ।
दुर्घटना लगत्तै प्रहरीले कार र चालक सुन्दरहरैँचा-९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।