धरान : एन्फा एकेडेमीमा ४ वर्षे फुटबल प्रशिक्षणमा रहेका यु-१३ का प्रशिक्षार्थीहरूलाई एकेडेमीले उनीहरूको पढाईलाई प्राथमिकता दिएर प्रशिक्षण सञ्चालन गर्दै आएको अध्यक्ष किशोर राईले बताएका छन् ।
एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष समेत रहेका राईले भने ‘फुटबल खेल्न जानेर मात्र हुँदैन, पढाइमा सफल नभए कुनै पनि क्षेत्रमा कोही पनि सफल हुन्न ।’ त्यसैले एकेडेमीले स्कुलको पढाई, परीक्षा अनुसार प्रशिक्षणको तालिका निर्धारण गरेको बताए ।
दशैं, तिहार लगायत पर्व मनाउन एक महिनाको बिदामा जान लागेका प्रशिक्षार्थीहरू र उनीहरूका अभिभावकहरूसँग छलफल तथा शुभकामना कार्यक्रममा मङ्गलवार उनले अभिभावकहरूलाई यसतर्फ संवेदनशील भएर बिदाको अवधिमा पनि पढाईलाई प्राथमिकता दिन आग्रह गरे ।
धरान उपमहानगरपालिका शिक्षा, युवा खेलकुद अधिकृत गणेशप्रसाद खतिवडाले एन्फा एकेडेमीमा प्रशिक्षणको अवसर पाउनु जीवनकै लागि महत्पूर्ण मोड भएको बताए ।
एकेडेमीबाट फुटबल र शिक्षामा सफल रूपमा पुरा गर्नु अभिभावक र आफ्नो जिल्लाकै लागि प्रतिष्ठाको विषय भएकोले प्रशिक्षार्थी विद्यार्थीहरू शिक्षा र फुटबल प्रशिक्षणमा बारबार रूपमा अव्वल साबित हुनु जरी भएको उनले बताए ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले कलिलो उमेरमा अभिभावकहरू भन्दा टाढा बसेर पढाई र प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरूलाई अभिभावकको प्रोत्साहन, सामिप्यता आवश्यक हुने बताउँदै एकेडेमीको अभिभावकसँग भेटघाट छलफल कार्यक्रम प्रेरणादायक भएको बताए ।
एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीले एकेडेमीमा प्रशिक्षार्थीहरूलाई पारिवारिक वातावरणमा प्रशिक्षण सञ्चालन गरिएको बताउँदै भने ‘हामी बाल मनोविज्ञान अनुसार प्रशिक्षार्थीको स्वभाव, रुचि बुझेर उनीहरूसँग व्यवहार गर्छौ, प्रशिक्षण पनि त्यसरी नै दिदैं छौँ ।’ प्रशिक्षणको ३ महिना बितेको अनुभवमा सबै प्रशिक्षार्थी सन्तुष्ट रहेको र प्रशिक्षणमा मन लगाउने पाएको उनले बताए ।
अभिभावक विमला सुवेदीले एकेडेमीमा रहेको छोराको पढाई र तालिमका अनुभवबाट आफू सन्तुष्ट भएको बताइन् । उनले छोराले राम्रो शिक्षा पाउने र सफल खेलाडी बन्ने विश्वास एकेडेमीबाट पुरा हुने विश्वास व्यक्त गरिन् ।
धरान स्थित एन्फा एकेडेमीमा हाल सञ्चालन भइरहेको प्रशिक्षणका सहभागी विद्यार्थीहरू सातौँ ब्याचका हुन । कोशी प्रदेशको १४ जिल्लाका कुल ३० जना मध्ये धरानका ३ जना प्रशिक्षार्थी छन् । उनीहरूलाई एकेडेमीले विद्यालयीय शिक्षाको व्यवस्था सुनाखरी एकेडेमीमा गरेको छ ।
anfa-bidhai-2