धरान : श्रीमान्/श्रीमती सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा अनियन्त्रित भई पैदल यात्रीमा ठोक्किएर आज मङ्गलवार दिउँसो भएको दुर्घटनामा श्रीमानको मृत्यु भएका छ । श्रीमती र पैदलयात्री घाइते भएका छन् ।

मोरङको रङ्गेली-१ पोखरी टोल भित्री सडकमा कर्सियाबाट सखरदिना जाँदै गरेको प्र १-०४-००१ त १००४ नम्बरको ट्याक्टरले सोही दिशामा जाँदै गरेको को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर लागेर मोटरसाइकल अनियन्त्रित भई पैदल यात्री धनपालथान-६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएर गम्भीर दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान-१ का ४६ वर्षीय रामबहादुर माझी र पछाडि बसेकी उनको श्रीमती ३६ बर्षीया मंगली चौधरी समेत ३ जना घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागी गोल्डेन अस्पताल विराटनगर पुर्याईएकामा उपचारको क्रममा मोटरसाइकल चालक माझीको मृत्यु भएको छ ।

दुर्घटनाको कारण बनेको ट्याक्टर र चालक धनपालथान-४ का २० वर्षीय रबिन मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।