धरान : सर्वसाधारणको भान्सामा अचारै भएपनि छाकैपिच्छे रुचाइने गोलभेँडा बजारमा महँगिएको छ। गए साता खुद्रा ६० रुपैयाँ केजीमा पाइने आज बुधवार तरकारी बजारमा १८० रुपैयाँ केजी सम्म पुगेको छ।

बजारमा भेटिएकी धरान-१५ की आशा राईले भनिन् ‘टमाटर महँगो भएछ अब किनेर खानु नसकिने भयो ।’ धरान-५ की कोपिला पाचकोटीले भनिन् ‘हप्ता अघि ६० रुपैयाँ केजीले किनेको अहिले देउराली चोकमा २ सय रुपैयाँ केजी रहेछ ।’ १ केजी किन्न गएको १ पाउ लिएर आउनु परेको उनले बताइन् ।

धरान-२ स्थित पालिका तरकारी बजारका सब्जी व्यापारीहरू बजार भाउमा एकरूपता नभएको बताउँछन् । बजारमा गोलभेँडा नभएपछि केजीमै ५/१० रुपैयाँ नाफा राख्न थालेकोले महँगो भएको उनीहरूको भनाई छ ।

धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले पहाडी क्षेत्रबाट आउने गोलभेँडाको आपूर्ति नभएपछि महँगिएको बताए । उनका अनुसार धरानमा दैनिक २० टन गोलभेँडा खपत हुने गरेको छ । तर आपूर्ति घटेपछि व्यपारीहरुले भारतीय गोलभेँडा ल्याउन थालेका छन् ।

पूर्वको पहाडी क्षेत्र धनकुटाको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थानमा गोलभेँडाको खेती हुने गरेको छ । यसपालि अविरल वर्षाले खेतीमा असर पुग्दा पहाडी क्षेत्रबाट गोलभेँडाको आपूर्ति घटेको उनले बताए ।

व्यवस्थापक कार्कीका अनुसार धरानमा धनकुटा र तेह्रथुमबाट गत हप्ता सम्म कृषि बजारमा दैनिक ३० टन गोलभेँडा गरेको थियो । उनले भने ‘तर अहिले १० टन पनि आइरहेको छैन ।’ नेपालकै उत्पादनले माग पुरा नहुँदा कृषि बजारका व्यापारीले भारतबाट ५ टन गोलभेँडा ल्याएको उनले बताए । 

बजारमा गोलभेँडाको अहिले थोक भाउ नै प्रति केजी १३० देखि १४० सम्म पुगेको छ । स्थानीय बजारमा खुद्रा भाउ भने तरकारी व्यवसायीहरूले मनपरी गरेको हुनसक्ने उनले बताए ।

भट्टराईका अनुसार पोहोर साल बजारमा नेपाली गोलभेँडा आपूर्तिमा कमी हुने बित्तिकै भारतीय गोलभेँडा आयात हुन्थ्यो । यसपालि नेपाल सरकारले कृषिजन्य बस्तुमा आयातमा रोक लगाएकोले भारतीय गोलभेँडा आयात समयमै नहुँदा भाउ आकासिएको हो ।

बजारलाई चाडपर्वले छोए पनि धरानमा बजार अनुगमन नहुँदा व्यापारीले आफूखुसी उपभोग बस्तुहरूको मनपरी भाउ बढाएको उपभोक्ताहरूको गुनासो छ ।

सामाजिक सञ्जालमा भने गोलभेँडाको भाउ अहिले भाइरल भएको छ । गोलभेँडा १८० पुग्नुको कारण अनुगमन नभएको टिप्पणी गरिएका छन् ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले बजार अनुगमन नियमित भइरहेको दाबी गरेका छन् । अनुगमन भएकैले बजारमा मुल्यसूची राख्न थालिएको उनले बताए । उनले भने ‘कृषि बजारमै गोलभेँडा नभएकाले भाउ बढेको हो ।’

गोलभेँडाको भाउ बढेकामा कृषकहरू भने खुसी छन् । सहिदभुमी वडा ६ का कृषक बलराम राईले बोटमै किलोको ११० मा विक्री भइरहेको बताए । उनले भने ‘बल्ल मेहनतले भाउ पाएको छ ।’

गोलभेँडा उत्पादन गर्न सजिलो नभएको बताउँदै उनले समय अनुकूल मल जल गर्नुपर्ने कति दुःख छ, त्यो दुःख खानेलाई थाहा नभएको बताए । उनले भने ‘किसानले दुःख अनुसार मूल्य पाएका थिएनन्, बल्ल बोटैमा मूल्य पाउन थालेका छौँ ।’