धरान : सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् ।
डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६ वडाध्यक्ष सुमन थापाले बिहीबार आमालाई उपचारका लागि अस्पताल ल्याएका थिए । दुई दिनदेखि अस्पताल भर्ना गरिएको आमाको उपचारमा ढिलाइ भएको निहुँमा वडाध्यक्षकै निर्देशनमा उनका भाइ खेमराज थापाले कुटपिट भएको उनले आरोप लगाएका छन् ।
अस्पतालका एक चिकित्सक र विकास समितिका पदाधिकारी डा. राईसँग असन्तुष्ट रहेकोले उनीहरूको उक्साहटमा वडाध्यक्ष परेको अस्पताल श्रोतले बताएको छ ।
कानुनी रूपमा अस्पताल परिसरमा कुनै पनि स्वास्थ्यकर्मी माथि हातपात, कुटपिट गर्नु गम्भीर अपराध हो । घटना मिलाउन स्थानीय नेताहरूको दबाब आएको डा. राईले बताए ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थाको सुरक्षामा प्रतिकुल हुने गरी स्वास्थ्य संस्थामा घटना घटेमा नेपाल सरकार स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६६ र मलुकी ऐनले दण्डनीय मानेको छ ।