विराटनगर : विराटनगर-२ शङ्करपुरका १०२ वर्षीय वयोवृद्ध पण्डित नारायण खनाल र विराटनगर-३ ज्योति मार्गका १०० वर्षीय वयोवृद्ध पण्डित बद्रीनाथ खतिवडालाई शताब्दी पुरुष सम्मान स्वरूप शनिवार अभिनन्दन गरिएको छ ।

सम्मान सहित ज्येष्ठ नागरिकद्वयलाई २१/२१ हजार रुपैयाँ प्रदान गरिएको छ । सम्मानितद्वयलाई प्रमुख अतिथि कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी र विशिष्ट अतिथि कोसी प्रदेश सभासदस्य भीम पराजुलीले अभिनन्दन पत्र, दोसल्ला नगद प्रदान गरेका थिए ।

सम्मान अभिनन्दन विराटनगर-६ स्थित पण्डित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले गरेको हो । सोही अवसरमा प्रतिष्ठानले मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति नगद पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार लक्ष्मीनारायण गुरुकुलम् कञ्चनवारीकी छात्र रोशन न्यौपाने र राधारमण वेदाङ्ग पाठशालाका अनुज घिमिरेलाई प्रदान गरिएको हो । पुरस्कार स्वरूप छात्रद्वयले ५ हजार १०० रुपैयाँको दरले नगद छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा.भोलानाथ पोखरेलको सभापतित्वमा भएको समारोह मन्त्री अधिकारीले पण्डित घनश्याम पोखरेलको बहुआयामिक व्यक्तित्व तथा आदर्श चरित्रको अनुकरणीय भएको बताउँदै उनको प्रेरणादायी आदर्श जीवनबाट अहिलेको समाजलाई मार्गदर्शन हुने बताए ।

कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, सह प्रा.डा.रघुनाथ नेपाल, उपप्रा. युवराज धिताल, आचार्य रामानुज नेपाल, महेश रेग्मी, प्राडा.भरत भट्टराई लगायतका शुभकामना व्यक्त गरे । संयोजन प्रतिष्ठानका वरिष्ठ सल्लाहकार नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा.रघुनाथ नेपालले गरेका थिए ।