इटहरी : अनलाइन मार्फत जुवा खेलाएर पैसा लिएको आरोपमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की सहित ४ जनालाई कारबाहीको तयारी सुरु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत एसपी  कार्कीले अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको पाइएपछि छानबिन अगाडि बढाएको हो ।

लेनदेनमा संलग्न रहेको आरोपमा गत बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका छन् ।

घटनामा प्रत्यक्ष जोडिएका एसपी कार्की शुक्रवार हेडक्वार्टर तानिए । प्रदेश प्रहरी कार्यालयका अनुसार  अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको प्रमाण पुगेपछि कारबाही प्रक्रिया सुरु भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले अनियमितताको सूचनापछि तथ्यका आधारमा छानबिन भइरहेको बताए ।  प्रहरी उपरीक्षक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने उनको भनाइ छ ।

कारोबारी र प्रहरीबिच २५ लाख रुपैयाँ लेनदेन भएको देखिएको थियो । जिल्लाको टोलीले रकम लिएको विषयमा प्रदेशले आन्तरिक छानबिन सुरु गरेपछि रकम लिनेले सो रकम फिर्ता गरेको बताइएको छ ।