झापा : उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार नगरपालिका परिसरमै हातपात भएको छ ।

नगरप्रमुख खरेलमाथि उर्लाबारी नं. ७ का ४८ वर्षीय मिलन भण्डारीले हातपात गरेका हुन् । हातपात गर्ने भण्डारीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइसकेको छ ।

भण्डारीले नगरप्रमुखमाथि किन हातपात गरेका हुन् भन्ने विषय खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । भण्डारीलाई मङ्गलवार अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।

आखिर किन भण्डारी यसरी आक्रोशित भएर नगरप्रमुखमाथि नै जाइलाग्नु पर्ने अवस्था भयो भन्ने विषयमा चर्चा परिचर्चा भइरहेको छ । भण्डारी उर्लाबारी-७ का पुराना व्यवसायी हुन् । उनी पछिल्लो समय थेरापी सेवा प्रदान गर्दै आएका थिए ।

यस विषयमा नगरप्रमुख खरेललाई बुझ्न खोज्दा फोन उठेन ।