धरान : तिहारको बेला दुई पैसा आम्दानी गर्न फुटपाथमा भाइटिका, लक्ष्मी पूजा लगायत स-साना सामग्री बेच्ने पसलेहरूसँग वडा कार्यालयको दैनिक कर बाहेक अनधिकृत 'दादा भत्ता' पनि असुली गरिँदै आएको पाइएको छ ।
धरान-२ भानुचोकको ट्याम्पो स्टेण्ड, घण्टाघर वरिपरि तिहार विशेष सामाग्रीका फुटपाथ पसलेहरूसँग दादागिरी शैलीमा दोहोरो रकम उठाएको फुटपाथ व्यापारीहरूले बताएका छन् ।
तिहार नजिकिएसँगै सोमबार देखि लागेको फुटपाथ व्यापारबाट दुई पैसा कमाउन पसल राखेको पसलेहरू दोहोरो मारमा परेको माटोको भाँडा पसले रुक्मनी मरिकले बताइन् ।
उनका अनुसार भानु क्लब बजार व्यवस्थापन समितिले बिल दिँदै दैनिक शुल्क लिँदै आएको छ । उक्त शुल्क बाहेक वडा २ को अनुमति पाएको भन्दै निकेश श्रेष्ठ, सन्तोष श्रेष्ठले बिल बिना दादागिरी शैलीमा रकम उठाउँदै आएको गुनासो फुटपाथ पसलेहरूले गरेका छन् ।
रुक्मनीले भनिन् ‘बल्ल बल्ल दिनमा दैनिक ८ सय देखि १ हजार रुपैयाँको व्यापार हुन्छ, उनीहरूले धम्काउँदै हप्काउँदै मनपरी कहिले १२० कहिले १०० रुपैयाँ लिन्छन् ।’
पसलेहरूका अनुसार अघिल्लो वर्ष भानु क्लब बजार व्यवस्थापन समितिले दैनिक ३० रुपैयाँ मात्र लिने गरेको थियो । यसपालि भने ८ गुण बढाएर २२० देखी २४० रुपैयाँ सम्म दिनु परेको छ ।
फुटपाथ पसले प्रेम गुप्ताका अनुसार दिनमा दुई वटा ग्रुप आउँछ एउटाले १२० रुपैयाँ लिन्छ । अर्को बिल बिनाको मान्छेले १०० रुपैयाँ लिन्छ । भानु क्लब बजार व्यवस्थापन समितिले रसिद दिन्छ १२० रुपैयाँ लिन्छ ।
उनले भने ‘फेरी अर्को मान्छे आउँछ वडा २ को आधिकारिक मान्छे हौँ भन्दै जबरजस्ती बिल बेगर हिजो सोमबार १२० रुपैयाँ लग्यो आज १०० सय लग्यो ।’ बिल खोइ भन्दा मैले बजार व्यवस्थापन गर्ने ठेक्का लिएको हुँ ! छैन बिल पैसा नदिने भए दोकान उठाएर लगिहाल ! भन्ने धम्की दिने गरेको उनले बताए ।
उनले भने ‘के गर्ने हजुर हामी चाडपर्वमा सानो व्यापार गरेर गरीखान खोजेको मात्र हो ।’ दुई पैसा हुन्छ कि भनी दुःख गरेको मानिसलाई ‘तेरो सामान उठाएर फालिदिन्छु’ भनेर धम्काउने गरेको उनले बताए ।
सप्तरङी रङका पसले कमला देवीले दैनिक ८०० देखि १००० रुपैयाँको विक्री हुन्छ साँवा कता गयो, दिन भरीको मेहनत कता आधा सामान खेर नै जान्छ तर बट्टीमात्र २२० तिर्नुपर्ने बताइन् ।
नाङ्लो बनाउने मन्जित राईले भने ‘दुःख गरेर पसिना चुहाएर धरान-१७ साकेला पार्क छेउमा देश मै केही गर्नुपर्छ भनेर नाङ्लो उत्पादन गरेर व्यापार गर्न ल्याएको बिक्री भएको छैन जबरजस्ती रसिद बिना नै पैसा माग्न आँउछन ।’
रसिद माग्दा दिँदैनन् । हिजो १२० उठाएका थिए । हिजो चर्को विवाद पछि आज १०० मात्र उठायो त्यही पनि धम्काउँदै सामान फल्दिन खोजेको उनले बताए।
रङ पसले अर्चाना जैसवाल, टपरी र सालको पात पसले कमला बिकले ‘हामी साना तिना गरिखानेलाई दादा गिरी गरेर पैसा उठाउँदै छन् ।’ उनले भनिन् ‘सालको पात बेच्दा कति न फाइदा हुन्छ ? जङ्गल गएर पात बेच्न ल्यायो २२० तिर्नु पर्छ ।’
वडा २ का अध्यक्ष रमेश राईलाई सम्पर्क गर्दा उनले खुलेआम 'दादा भत्ता' असुलीलाई ‘यस्तो सानोतिनो कुरामा वास्ता’ गर्न नहुने बताए।
उनले ‘स्थानीय सरकार सञ्चालन गर्नु पर्दैन ? कर नउठाई वडा सञ्चालन गर्नु हुन्छ ? भनी उल्टै प्रश्न गरे ।
जबरजस्ती पैसा असुलेको आरोप लगेका सन्तोष श्रेष्ठले भने ‘वडासँग भानु चोक आसपास एरिया र ट्याक्सी स्टेण्ड एरियामा अनुमति दिई ४ हजार १० रुपैयाँ राजश्व कर तिरेर पैसा उठाएको हुँ, बिल सिल म सँग छैन ।’
भानु क्लब बजार व्यवस्थापन समितिका सचिव रोहन केसीले भने ‘भानु क्लबले वर्षै पिच्छे भानुचोक वरपर बजार व्यवस्थापन गर्न रकम उठाएको हौँ र वडासँग समेत अनुमति लिएका छौँ ।’
भिडियो :