धरान : उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघालाई आज मङ्गलवार कात्तिक १३ गते पुनः उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
अदालतले यसअघि कात्तिक ४ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख अईन्द्रबिक्रम बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका कार्य गर्ने बताएका छन् ।
धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र उच्च अदालत विराटनगरले कात्तिक ४ गते खारेज गरेको थियो ।
पत्र खारेज भएसँगै कार्यवाहकको जिम्मेवारी सम्हालेका वडा अध्यक्ष लोकेन्द्र फागोले कात्तिक ५ गते सोमबार कार्यवाहकको जिम्मेवारीबाट आफू अलग भएका थिए ।
अदालतले अल्पकालीन अन्तरिम आदेशलाई दिएको निरन्तरता र पत्रको आधारमा कार्यवाहक बनेका वडाध्यक्ष जिम्मेवारीबाट अलग भएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख अइन्द्रविक्रम बेघामा आएको हो ।
कात्तिक ४ गते आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।
भने कात्तिक ६ गते मङ्गलवार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी गरेको थियो ।
आज कात्तिक १३ गते पुन: उच्च अदालत विराटनगरका न्यायाधीशद्वय सुर्यनाथ प्रकाश अधिकारी र कृपासुर कार्कीको संयुक्त इजलासले सोही आदेश निरन्तरता दिएको हो ।