धरान : काठमाडौँका व्यापारिक क्षेत्रमा नयाँ आर्थिक वर्षको कारोबारी खाता नेपाल संवतको मितिमा गर्न थालिएको आज बुधवार आयोजित नेपाल संवत् नयाँ वर्षको शुभकामना कार्यक्रममा बताइएको छ ।
नेपाल संवत् ११४५ नेपाली पञ्चाङ्ग अनुसार शनिवार गाई पूजा/गोवर्द्धन पूजाको दिन देखी सुरु हुँदैछ । सिद्धि नेवाः परिषद् धरानद्वारा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.राजविमल श्रेष्ठले नेपाल संवतको मितिमा आर्थिक कारोबार हुन थालेको बताएका हुन ।
उनले भने ‘नेपाल संवत् अनुसार कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने चलन काठमाडौँमा अहिले चलिआएको छ ।’
नेपाल सरकारले नेपाल संवत् राष्ट्रको संवत् घोषणा गर्दै नेपालका सम्पूर्ण सरकारी कार्यालयमा कामकाजी संवतको रूपमा नेपाल सम्बत प्रयोग गर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत् ९३७ इस्वी संवत् ८८० मा काठमान्डुका गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वतको सुरु गराएका थिए । कार्यक्रममा शंखधर शाख्वाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
अध्यक्ष श्रेष्ठले नेपाल संवतलाई नेपाल सरकारले राष्ट्रिय संवतको मान्यता दिए पनि किन प्रचलनमा आउन सकेको छैन भन्ने विषयमा विचार विमर्श गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार नेपाल सम्बत नेपालमा ८८८ वर्ष सम्म प्रचलनमा रहेको थियो । भने ‘नेपाल सम्वत देशको नामबाट चलेको विश्वकै एक मात्र संवत् हो ।’ नेपालले संयुक्त राष्ट्रिय सङ्घको सदस्य बन्न नेपाल संवत् र नेपाल भाषाको रञ्जना लिपिलाई राष्ट्र सङ्घमा पेस गरेको उनको भनाई छ ।
प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य विजय राईले नेपाल सम्बत नेवारहरूको मात्र सम्वत नभई सम्पूर्ण नेपालीहरूको सम्बत भएकाले सबैले नयाँ वर्ष हर्षोल्लाससाथ मनाउनु पर्ने बताए ।
कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत र यशोदा कायस्थले पनि नयाँ वर्षको शुभकामना दिए । परिषद्का महासचिव मोहन श्रेष्ठले शंखधर शाख्वालाई नेपाल सरकारले चौथो राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको र उनको फोटो अङ्कित ५ रुपैयाँ मूल्यको हुलाक टिकट पनि जारी गरिएको बताए ।
हरिकृष्ण श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा नेवाः देय् दवूका कोशी प्रदेश अध्यक्ष इन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य नरेशकुमार शाक्य, प्रदेश उपाध्यक्ष चन्द्रा हलुवाई, जिल्ला अध्यक्ष वसन्तकुमार श्रेष्ठको उपस्थिति थियो ।