इटहरी : पकली माध्यमिक विद्यालयको तेस्रो कार्यकाल अध्यक्ष भएका विनोद कुमार झाले शिक्षक सरुवामा घुस मागेको अडियो सार्वजनिक भयो । सार्वजनिक भएको अडियोमा उनले दुई लाख दिन आग्रह गरेका छन् । उनको सार्वजनिक नभएको अनकौ विषयमा गुण्डागर्दीकै शैली झल्किन्छ ।

पछिल्लो समय २०७७ मा नयाँ व्यवस्थापन समितिको पदावधि सकिएको थियो । राजनीतिक भागबन्डा नमिल्दा व्यवस्थापन समिति चयन हुन सकेन । डेढबर्ष जति व्यवस्थापन नेतृत्व विहीन भएको पकली माविमा २०७९ पूसमा मात्र नयाँ समिति गठन भयो । झा अध्यक्ष नबनेसम्म व्यवस्थापन समिति गठन हुन नसक्ने भएपछि लामो समय विद्यालय बन्धक बन्यो । उनी अध्यक्ष बन्ने राजनीतिक वातावरण बनेपछि समिति गठन भएको थियो ।

खुसीराम चौधरी, राजेन्द्र ओझा, केबलकुमारी राई र विष्णु ढकाल अभिभावकको भेलाबाट सदस्य चयन भएका थिए । सदस्य सचिव रहेका प्रधानाध्यापक र वडाध्यक्ष सहित ६ जनाको समितिले झा र रिता सुवेदी मनोनीत सदस्य हुन् । विद्यालयमा विभिन्न विवादमा आइरहने उनको १५ वर्षदेखि एकलौटी शासन चलिरहेको छ । जसरी पनि विद्यालयको नेतृत्वमा पुग्ने उनको हुटहुटीले काम गरेको छ ।

समितिका अर्का सदस्य खुसीराम चौधरी पनि अध्यक्षको दाबेदार थिए । २०८० माघमा ज्येष्ठ सदस्य केवल कुमारी राईको अध्यक्षतामा बसेको बैठकले झालाई जबरजस्त अध्यक्ष बनाउने निर्णय ग¥यो । झाको निर्देशनमा स्थानीय युवाहरूले धम्की दिएपछि चौधरीलाई अध्यक्ष बन्न रोकियो । चौधरीका अनुसार एक युवाले बाहिर बोलाएर विनोदलाई अध्यक्ष बनाउनुपर्ने नभए राम्रो नहुने चेतावनी दिए ।

चौधरीले सुरुमा माइन्युटको उपस्थितिमा हस्ताक्षर गरे । पछि सहमति गर्ने बेलामा उनलाई बाहिर पठाएर जबरजस्त माइन्युट गरेको उनको भनाइ छ । पछि नोटअफ डिसेन्ट लेख्न नदिएको भन्दै उनले गुनासो गरे । अध्यक्ष झाले चौधरीलाई नोटअफ डिसेन्ट लेख्न मात्र दिएनन् सदस्य पदबाटै हटाइदिए । अभिभावक भेलाबाट आएका चौधरीलाई हटाएर मोहम्मद इस्लामलाई सदस्य मनोनीत गरेका छन् । चौधरी पकली माविका जग्गा दाता समेत हुन् ।

समिति अध्यक्षमा मात्रै हैन विद्यालयका आवश्यक सामग्री खरिदमा पनि उनको मनमौजी चल्छ । खरिद समिति नबनाई निश्चित पसलबाट खरिद गराउने गरेको एक कर्मचारीले बताए । उनको हस्तक्षेप यति छ की परीक्षा केन्द्र तोकिएको अवस्थामा परीक्षा चल्न नदिने गरी गुण्डागर्दी गर्छन् । विद्यालयमा जडान भएको सिसी क्यामेराको पहुँच पनि उनले घरैमा राखेका छन् । घरबाट सिसी क्यामेरा हेरेर कर्मचारी र शिक्षकलाई दबाब दिइरहन्छन् ।

२०८० सालको कक्षा १२ को परीक्षामा आफ्नो विद्यालय चलाउन नदिने गरी हस्तक्षेप गरे । विद्यालयको कम्प्युटर र प्रिन्टर्स प्रयोग गर्न दिएनन् । शिक्षक र कर्मचारीलाई हप्कीदप्की गर्ने देखि आफ्नो विरुद्धमा बोले कारबाही गर्ने चेतावनी दिन्छन् झा । आन्तरिक श्रोतबाट भर्ना भएका कर्मचारी दुई बर्स अनुपस्थित भए पनि पुनः हाजिर गराए । प्रश्न गर्ने शिक्षक र कर्मचारीलाई कारबाहीको चेतावनी दिने गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको आन्तरिक लेखा परीक्षणलाई लिएर उनले तत्कालीन प्रधानाध्यापक र लेखापाललाई स्पष्टीकरण सोधे । अन्य सदस्यलाई जानकारी नदिई सोधेको स्पष्टीकरण उपमहानगरमा दर्ता गराए । यसअघि पनि विभिन्न बहानामा पैसा मागेको झा आलोचित बन्दै आएका छन् । उनले आफै पनि शिक्षकसँग विद्यालयको लागि वार्षिक र मासिक पैसा लिने गरेको बताइरहेका छन् ।