विराटनगर : विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बासडर घोषणा गरिएको हो ।

ब्राण्ड एम्बासडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् ।

उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘विराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । विराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद । टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’

साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरूलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठुलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।