वराहक्षेत्र : उदयपुरको बेलका नगरपालिका वडा नं.९ मा मङ्सिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली काँग्रेसले वडामा नवराज बस्नेत (नवीन) लाई उम्मेदवारको रूपमा अगाडी सारेको छ । गाउँमा आइपर्ने समस्याको समाधान, सहयोग, समाजमा अप्ठ्यारो पर्दा सहयोग गर्ने इमानदार समाजसेवीको रूपमा नवराज वडामा परिचित छन् ।
नेपाली काँग्रेसले सर्वसम्मत रूपमा उम्मेदवार बनेका नवीन हाल भोट भाग्न घरदैलो गरिरहेका छन् । वडाध्यक्ष उम्मेदवार बनेका नवराजको मत माग्ने शैली देखेर मतदाताहरू चाख मानेर हेरिरहेका थिए ।
पार्टी अग्रज नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थन सहित मत माग्न पुगेका नवराजले ठुलासँग आशीर्वाद सहित मत मागी राख्दा अन्य पार्टीमा आस्था राख्ने स्थानीय पनि चाख मानेर हेरिरहेका देखिन्थे । अग्रज एवम् ज्येष्ठ नागरिकले हात शिरमा राखिदिँदा नवराज आशीर्वाद र सहयोगको अपेक्षा रहेको बताउँथेँ ।
वडामा रहेको खानेपानी, सिचाई, खोला कटान, सडक लगायतको कुरालाई प्राथमिकता राख्ने र स्वर्गीय पदम खड्काको योजनालाई पूरा गर्ने उनको प्रतिबद्धता रहेको उनको भनाइ छ ।
१८ वर्षको उमेरदेखि करिब २० वर्ष आफ्नै गाउँको विद्यालयमा शिक्षकको रूपमा सेवा गरेका नवराज वडामा लोकप्रिय व्यक्ति हुन् । सानालाई माया, युवालाई प्रोत्साहन र अग्रजलाई अभिभावकको रूपमा लिने नवराज सरल, इमानदार रहेको स्थानीय मतदाताहरूको भनाई छ । नवराज समाजसेवाको पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन । सामाजिक सङ्घ संस्थामा समेत सक्रिय रहेका गरेका उनी नेपाली काङ्ग्रेससँगै वडामा लोकप्रिय छन् ।
बेलका नगरपालिका वडा नं.९ मा वडाध्यक्ष पदम बहादुर खड्काको मोटर दुर्घटनाबाट मृत्यु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पदम बहादुर खड्का निर्वाचित भएका थिए ।
नगरपालिको केन्द्र रहेको वडा नं.९ रामपुर बजारमा मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले मोहन खड्कालाई उम्मेदवार बनाएको छ । मोहन स्वर्गीय वडाध्यक्ष पदमका आफ्नै सहोदर भाइ हुन् । मोहन एमालेको राजनीतिमा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
त्यस्तै नेकपा माओवादीले स्थानीय पत्रकार भरत घिमिरेलाई उम्मेदवार बनाएको छ । भरत विद्यार्थी राजनीति, पत्रकारिताबाट माओवादीको राजनीतिमा जुझारु नेता हुन् । त्यस्तै वडामा जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी लगायत केही स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।