इटहरी : मिसेस्, मिस्टर एन्ड मिस लिटल कोशी तथा मिस कोशीको आयोजनाको नाममा जय मिडिया प्रालीले ठगी धन्दा चलाउँदै आएको छ । यसअघि इटहरीमा आयोजित कार्यक्रमको ठगी धन्दाबारे कपुरी न्युजले समाचार प्रकाशित गरेपछि विराटनगरमा कार्यक्रम समापन गरेको थियो । प्रशासनको अनुमति नलिई कार्यक्रम गरेको र अभिभावकलाई दबाब दिएर भोट गर्न लगाएपछि जय मिडियाले रातारात विराटनगरमा फाइनल कार्यक्रम आयोजना गर्यो ।

विराटनगरमा जय मिडिया म्यानेजमेन्ट प्रालिद्वारा आयोजित सातौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता भोटिङमा धाँधली भएको विषय बाहिरिएको छ । सिटी प्यालेसमा शनिवार राती भएको फाइनल प्रतियोगितामा ७९ जना प्रतिस्पर्धी सहभागीलाई ठगी गरेको भन्दे अभिभावकले विरोध जनाए । 

हरेक प्रतियोगिताको अन्तिम सम्म नै सम्पूर्ण सहभागीलाई प्रतिस्पर्धा गराएर लुट्ने जय मिडियाले नयाँ तरिका अपनाएको छ । दैनीकजसो प्रतिस्पर्धीको लिस्ट सार्वजनिक गरेर बालबालिकालाई भोट माग्न लगाउने गरेको छ । टिकट बिक्री गर्नको लागि बालबालिकाको प्रयोग गरेर अभिभावकलाई दबाब दिने गरेको छ । 

विराटनगरमा पनि सोही अभ्यास दोहोर्याएरको जय मिडियाले लुट धन्दा मच्चायो । एक दिन अगावै बन्द गर्नुपर्ने भोटिङमा पैसा असुल्नकै लागि अन्तिम समयसम्म खुल्ला गरिएको थियो । भोटिङमा शङ्का लागेपछि जाँच गर्न खोज्दा आइटी प्राविधिक भागेको र धाँधली भएको अभिभावकको गुनासो छ । 

तृतीय स्थानमा रहेकी सायरा दत्तलाई चौथो स्थानमा राखिएको विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि जय मिडिया अध्यक्ष जयराज रायले माफी माग्दै सायरालाई तृतीय स्थानको घोषणा गरे । थप पैसा लिएर विजेता हुनुपर्ने प्रतिस्पर्धीलाई पछि पारेर अन्यलाई अगाडि बढाउन खोजेको अभिभावको आरोप छ । एउटा भोटको १० रुपैयाँ तोकिएको छ । त्यसैमा त्यसबाहेक सहभागीहरूले सुरुमा ५०० र त्यसपछि १६ हजार रुपैयाँ शुल्क तिरेका थिए । 

सन् २०२० को मिसेस् कोशीको विजेता सम्झना थापाले पनि पुरस्कार पाएकी छैनन् । त्यसअघि र पछिका विजेतालाई उनले पुरस्कार दिएका छैनन् । डेढ लाख पर्ने विद्युतीय स्कुटर दिन एक लाख २५ हजार देखि एक लाख ४० हजार रुपैयाँ माग्छन् रोय ।  विभिन्न कर र थप ४० प्रतिशत भुक्तानी गर्नुपर्ने भन्दै उनले अत्यधिक धेरै पैसा माग्ने गरेका छन् । 

धेरै झन्झटिलो प्रक्रिया देखाएर विजेतालाई दिक्क लगाएर पुरस्कार नदिने उनले प्रपञ्च रच्ने गरेका छन् । जथाभाबी हस्ताक्षर गर्न लगाउने तर पुरस्कार नदिने गरेको विजेताहरू बताउँछन् । मिसेसको मात्र हैन मिस्टर र मिस लिटलको पनि उनले पुरस्कार दिएका छैनन् । यसअघि पनि विराटनगरमा विजेताको क्राउन पहिर्याउन पैसा मागेको आरोप लागेको थियो । पछि विराटनगरमा कुनै पनि प्रतियोगिता नगर्ने सहमति भए पनि पछिल्लो समय जय मिडियाले विराटनगरमै लुट धन्दा मच्चाइरहेको छ ।