इटहरी : नेपाली काँग्रेस कोशी प्रदेशले पहिलो प्रदेश सम्मेलनको आयोजना गर्ने भएको छ। सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा मङ्सिर २२ गते शनिवार विराटनगरमा सम्पन्न हुन लागेको हो ।
सम्मेलनले दिशानिर्देश गरे अनुरूप साङ्गठनिक गतिविधिहरू थप बढाउँदै जाने प्रदेश सभापति उद्धव थापाले बताए । थापाका अनुसार विराटनगरको मनास्लु पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारीले सम्बोधन गर्ने भएका छन्।
केन्द्रीय सदस्यहरू, १४ जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर/गाउँ कार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई निमन्त्रणामा गरिएको छ। 
सम्मेलनलाई भव्य बनाउन मूल तयारी समितिसहित आर्थिक व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक, मञ्च व्यवस्थापन, दर्ता र रजिष्ट्रेसन र प्रचारप्रसार गरी ८ वटा उपसमिति गठन गरिएको थापाले जानकारी दिए ।
महामन्त्री उमेश थापाले पेश गर्ने राजनीतिक प्रतिवेदन, अर्का महामन्त्री भूपेन्द्र राईले पेश गर्ने साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन माथि १७ गते सोमबार छलफल हुने भएको छ। पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर झापाको केचनाकवलबाट सगरमाथा सम्म सात महिने साङ्गठनिक जागरण अभियान सुरु गर्ने काँग्रेसको तयारी छ ।