धरान : बालबालिकामा अटिजम हुनुको कारण अहिले सम्म पत्ता लाग्न नसकेतापनि सन्तानमा अटिजम देखापर्नुको मुख्य ३ कारण हुनसक्ने विज्ञहरूले बताएका छन् ।

धरानमा बुधवार आयोजित ‘अटिजम स्पेक्ट्रम विकार’ सचेतना गोष्ठीमा विज्ञहरूले उक्त कुरा बताएका हुन । अन्तरक्रियात्मक गोष्ठी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले आयोजना गरेको हो ।

अटिजम भएका बालबालिकाहरूका अभिभावकहरू सहितको छलफलमा सहजीकरण बिपी प्रतिष्ठानका प्रोफेसर डा. विकास साह, अस्ट्रेलियाका रजिष्टार्ड पेशागत थेरापिष्ट जिवानाथ देवकोटा, केयु स्कुल अफ एजुकेशनकी मनोवैज्ञानिक प्रिस्मा थापाले गरेकी थिइन् ।

उनीहरूले बताए अनुसार अहिले सम्म २० प्रतिशत बालबालिकाहरूमा अटिजम हुनुको कारण वंशाणुगत मानिएको छ । तर अटिजम हुनुको मुख्य कारण पत्ता लाग्न सकेको छैन ।

ढिलो तथा उमेर ढल्केपछि विवाह भएको दम्पतीका सन्तानमा अटिजम देखिने सम्भावना हुनसक्छ । विशेषतः ४० वर्ष नाघेका पुरुष र ३५ वर्ष नाघेकी महिला दम्पतीका सन्तानमा अटिजमको सम्भावना हुन्छ । पहिलो बच्चामा अटिजम देखिएमा अरू बच्चामा पनि देखिने सम्भावना रहन्छ ।

अटिजमको समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको परिवारमा देखिन सक्छ । तर अहिले सम्मको अध्ययनमा सामान्यतः १० हजार बालबालिका मध्ये २० जनामा अटिजम देखिन सक्ने पाइएको छ ।

अध्ययन अनुसार अटिजम केटीहरूको तुलनामा केटाहरूमा ४ दशमलव ५ गुना बढी देखिएको छ । बालबालिकामा अटिजम भएको दर्जन बढी लक्षणहरूबाट पत्ता लगाउन सकिन्छ । अटिजम प्रायजसो जन्मेको ३ वर्ष भित्र प्रष्ट रूपमा देखिन्छ ।

बोलाउँदा नबोल्ने, कहिलेकाहीँ नसुने जस्तो गरिदिने, एक्लै अलग्गै बस्ने बानी भएका बालबालिकामा अटिजमको सम्भावना हुन्छ । असान्दर्भिक र नमिल्दो तरिकाले हाँस्ने वा रुने, आँखामा आँखा नजुधाउने स्वभाव पनि अटिजमको सङ्केत हो ।

साथीहरूसँग हेलमेल घुलमिल नगर्ने सामाजिक काम गर्न नसक्ने, डर नहुने साथै खतरा नबुझ्ने स्वभावका बालबालिकामा अटिजमको सम्भावना हुन्छ । कुनै पनि शब्द वा वाक्य बारम्बार दोहोर्‍याउने, कुनै पनि चिज/बस्तु घुमाई रहने स्वभाव अटिजमको सम्भावना मानिन्छ।

आफ्नो आवश्यकताको सामान ठुला मानिसको हात समातेर देखाउने, बिना कारण रुने, कराउने तथा चिन्तित हुने, घाउ, चोट तथा दुखाई प्रति वास्ता नगर्ने स्वभाव अटिजमको लक्षण भएको बताइएको छ ।

हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने परिवर्तन मन नपराउने, सामान्य पढाई, लेखाई शिक्षण विधिबाट नसिक्ने, असामान्य व्यवहार हल्लिने, मच्चिने, हात हल्लाउने, उफ्रिने बालबालिकामा अटिजमको सम्भावना हुन्छ ।

दोहोरो कुराकानी गर्न मन नपराउने स्वभाव, कसैले केही काम गर्न आग्रह गर्दा असामान्य प्रतिक्रिया दिने र समूहमा खेल्नु भन्दा एक्लै खेल्न मन पराउने बालबालिकामा अटिजमको सम्भावना भएको अध्ययनले देखाएको छ ।

धरान उपमहानगरपालिकाको सभा हलमा भएको छलफलमा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, अभिभावकहरूसँग अटिजम स्पेक्ट्रम विकारको लक्षण देखिए सुरुमै हस्तक्षेप गरेर अटिजम हुनबाट बचाउन सुधार गर्न सकिने विषयमा छलफल भएको हो ।

छलफलमा सहजकर्ताहरूले अटिजमबाट प्रभावित ४७५ बालबालिकाहरूको पहिचान स्कुल जान थालेको ३ वर्षको उमेरमा भएको बताए । अटिजम भएका व्यक्तिलाई साधारण दोहोरो कुरा गर्न र सामाजिक कठिनाइका बिच जीवन यापनमा गर्न अरूको सहायता चाहिने अवस्था हुने बताइएको छ ।

Atizam-news