धरान : बौद्ध धर्मावलम्बीहरूको धरान-१५ स्थित डाग्युर ञीङ्मा ड्युड्ने ल्हाखाङ गुम्बामा १० करोड बज्र गुरु जप धार्मिक कार्यक्रमको तयारी सुरु गरिएको छ ।
गुम्बामा शुक्रवार पत्रकार सम्मेलन गरी धार्मिक कार्यक्रम मङ्सिर २० गते देखी सुरु हुने जानकारी दिइएको हो । बज्र गुरु जपसँगै मङ्सिर १९ देखि ३० गते सम्म लाग्ने धार्मिक उत्सवमा निकै दुर्लभ मानिएको गुरु छेन्गे छयाम नृत्य लीला प्रदर्शन हुने गुम्बा अध्यक्ष लोकबहादुर थिङले जानकारी दिए ।
गुम्बामा हुने १२ दिने धार्मिक उत्सवमा भारत ,भुटान र नेपाल गरी १ लाख श्रद्धालु भक्तजन आउने अध्यक्ष थिङले बताए । उनले भने ‘धार्मिक उत्सवले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गरी धरानको आर्थिक गतिविधि बढाउने छ ।’
उत्सवको पहिलो दिन शान्ति र्यालीले धरान बजार परिक्रमा गर्नेछ । २० गते अवतारी रिन्पोन्छेलाई धरान उत्सव स्थलमा स्वागत गरिने छ । मङ्सिर २१ देखी २३ सम्मा धार्मिक साधना १० करोड बज्र गुरु जप हुने बताइएको छ ।
मङ्सिर २४ गते छेन्गे छयाम नृत्य लीला उद्घाटन हुनेछ । २५ गते बाह्र सय वर्ष पुरानो प्राचीन गुरु छेन्गे छयाम नृत्य लीला प्रदर्शन, जातीय सांस्कृतिक कार्यक्रम प्रदर्शन हुनेछ ।
२६ गते आठौँ ज्यासा रिन्पोछेको बाहुलीबाट आयु अभिषेक गरिनेछ । २८ देखी ३० गते सम्म ङ्युङने व्रत गरी पुष १ गते होम आयोजना गरी विधिवत् उत्सव समापन गरिने बताइएको छ ।