वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा स्थित आदर्श माध्यमिक विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन भइराखेको  जुनियर डिभिजन तालिम अन्तर्गत विद्यार्थीहरूले संस्थागत तालिमको दीक्षान्त कवाज प्रदर्शनी गरेका छन् ।

श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.५०औ जुनियर डिभिजन तालिम अन्तर्गत संस्थागत तालिमको दीक्षान्त कबज प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले सलामी, खुकुरी ड्रिल, कराँते पिटी, राष्ट्रिय तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन भएको जुनियर डिभिजन तालिममा ३६ जना विद्यार्थीको सहभागिता रहेको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद लिम्बुका अनुसार सहभागी विद्यार्थीहरूले १ सय दिन तालिम लिनेछन् । ७९ दिन तालिम लिई सकेका विद्यार्थीहरूले संस्थागत तालिमको दीक्षान्त कबज प्रदर्शनी गरेका हुन् ।

आइतबार विद्यालयको प्राङ्गणमा आयोजना भएको उक्त संस्थागत तालिमको दीक्षान्त कबज प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश सभा सदस्य माननीय ममता तामाङ मगर रहेकी थिइन् ।

कार्यक्रममा नगरप्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा २ का अध्यक्ष होमप्रसाद गौतम, पूर्व प्रधानाध्यापक प्रह्लाद भट्टराई, ज्ञान बहादुर पाण्डे, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल बेस क्याम्प चतराका सशस्त्र प्रहरी निरीक्षक सुदेश राई, नेपाली सेनाका जमदार दीपक राई, विद्यालयका पूर्व लेखा प्रमुख प्रह्लाद बुढाथोकी, नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखा सभापति  हरिकृष्ण भट्टराई, चतरा अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरि लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष यादव गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक लक्ष्मी प्रसाद लिम्बु राखेका थिए ।

kawaj 2 baraha