धरान : गायक एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ बोलको गीत रिलिज भएको तिन हप्तामै युटुवको ट्रेन्डिङमा परेको छ । उनले गाएको ‘शिरफूल‘ बोलको गीत ४ करोड १० लाख दर्शक श्रोताले हेरेका छन् ।

पछिल्लो समय युवा पुस्तामा लोकप्रिय एकदेवको गायनले धरानमा पनि हङ्गामा मच्चाउने भएको छ । शनिवार धरानको सांस्कृतिक महोत्सवमा लाइभ प्रस्तुतिका लागि उनी आउने भएका हुन ।

एकदेवका गीतहरू ‘फिँजेको केश‘लाई १ करोडले हरेका छन् भने ‘आहै, तिम्रो मुटुमा‘सहित दर्जनौँ गीतहरू उतिकै दर्शक श्रोताले रुचाएका छन् ।

नेचर क्लब धरानले शनिवार महोत्सवमा ल्याउने भएको हो । बगरकोटको महोत्सवमा धराने फ्यानहरू माझ शनिवार साँझ उनले प्रस्तुति दिने निश्चित भएको क्लबका अध्यक्ष कृष्ण राईले बताए ।

युवा पुस्तामा लोकप्रिय एकदेव गायकीमा मात्रै नभई सामाजिक कार्यमा पनि उक्तिकै सक्रिय छन् । उनले फरक क्षमताकी एक युवतीको सहयोगार्थ उनकै घरमा च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए ।

लोक आधुनिक तथा पप शैलीका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर धरान सङ्गीत जात्रामा एकदेव लिम्बूलाई बोलाइएको महोत्सवका संयोजक दिपचन्द्र राई कान्छाले बताए ।