इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्था बदल्न व्यवस्था बदल्न जरुरी रहेको बताएका छन् । वर्तमान नेपाली काँग्रेस र नेकपा एमालेको सरकारलाई सच्चिनुपर्छ भन्ने चेत नभएको बताए ।
सुनसरीको इटहरीमा आयोजित बृहत् विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले काँग्रेस एमालेले विगतमा गरेका भ्रष्टाचारको सजाय ढाकछोप गर्न गठबन्धन गरेको आरोप लगाए । हजारौँ मानिसहरू सरकारको नीतिको कारण घरबार विहीन भएको बताउँदै एनसेल प्रकरण घुस खाएर मिलाएको उल्लेख गरे । 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पैसाको लेनदेन भएको दाबी गर्दै उनले काँग्रेस, एमाले, माओवादीका नेतालाई मन्दिर कसम खाएर स्पष्ट पार्न चेतावनी दिए । वाइडबडी खरिद प्रकरणमा पनि तिन वटै दलका नेताहरूले पैसा खाएर कर्मचारीलाई फसाएको लिङ्देनको आरोप छ । 
उनले भने "देशमा खरबौँ पैसा छ तर बैङ्कमा ऋण लिने कोही नागरिक तयार छैन । देश बर्बाद भएको छ । देश असफल भयो । कमिसनको लागि जहाज किनेर थन्क्याउने काम भएको छ । देशले यो भन्दा धेरै बर्बादी थेग्न सक्दैन । अब सबैले राप्रपाको यो अभियानमा जोडिनुपर्छ ।"