धरान : पूर्वी नेपालका किरात लिम्बू-याक्थुङको पहिलो नेपाली इतिहास, भाषा लिपि, संस्कृतिका खोजकर्ता लेखक इतिहासकार इमानसिंह चेम्जोङको १२२औं जन्म जयन्ती आज बुधवार धरानमा मनाइएको छ । धरान-१५ चुम्लुङ हिम स्थित इमानसिंहको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उनको योगदानको चर्चा गर्दै जन्म जयन्ती मनाइएको हो ।
इमानसिंहको योगदानको चर्चा गर्दै चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाले उनी पूर्वी नेपालको प्रथम किरात इतिहासकार भएको बताए । उनले भने ‘नेपालमा पहिलो पटक ‘किरात इतिहास’ पुस्तक प्रकाशित गरेर चेम्जोङले पूर्व नेपालको किरात लिम्बु-याक्थुङको इतिहास स्थापित गरेका हुन ।’
इमानसिंहलाई भारत दार्जिलिङबाट आएको भन्ने गरिएको कथनका बारेमा टिप्पणी गर्दै उनी पाँचथरका लिम्बू भएको प्रमाण फेला परेको डा.तिगेलाले दावी गरे । उनले भने ‘इमानसिंह चेम्जोङको नाममा पाँचथरमा जग्गा धनीपूर्जा भएको प्रमाण खोजकर्ता योहाङ लावतीले फेला पारेका छन् ।’
इमानसिंहका पिता पान्थरसिंह चेम्जोङ तत्कालीन शासकको थिचोमिचोको कारण दार्जिलिङ निर्वासित हुन बाध्य भएका थिए । तिगेलाका अनुसार बुबासँगै इमानसिंङ चेम्जोङ दार्जिलिङ गएको र कलकत्तामा उच्च शिक्षा हासिल गरेर पिताको निधन पछि आफ्नै थातथलोमा फिरेका हुन ।
लिम्बु समुदाय बिच पछिल्लो समय ‘किरात’ शब्दका बारेमा हुँदै आएको टिका टिप्पणीले चेम्जोङद्वारा स्थापित किरात इतिहासको अवमूल्यन हुने उनले बताए । तिगेलाले भने ‘उहाँले इतिहास, भाषा, संस्कृतिमा गरेको खोज अनुसन्धान कालमा पूर्वका याक्थुङ-लिम्बूहरूलाई किरातको रूपमा चिनिन्थ्यो ।’
इमानसिंह चेम्जोङ जन्म जयन्ती किरात याक्थुङ चुम्लुङ र थाकथोक माबोहाङ चेम्जोङ वंश प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको हो । उक्त अवसरमा चुम्लुङ केन्द्रीय सदस्य संगीता सुब्बा, जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, माबोहाङ वंश प्रतिष्ठानका नगर अध्यक्ष हरेन्द्र चेम्जोङले इमानसिंहले इतिहास लेखेर लिम्बू जातिका लागि ठुलो योगदान गरेको बताए ।
चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको कार्यक्रम नगर सचिवालय सदस्य पवित्रा हुक्पाचोङबाङले सञ्चालन गरेकी थिइन् । यसअघि चुम्लुङ भवन स्थित इमानसिंहको पूर्णकदको शालिकमा सहभागीहरूले माल्यार्पण गरेका थिए ।
इमानसिंहको जीवनीमा जन्म मिति अङ्ग्रेजी तारिख मात्र लेखिएकोले प्रत्येक वर्ष जनवरी १ तारिखका दिन उनको जन्म जयन्ती मनाइने गरिएको छ । उनको सम्मानमा नेपाल सरकारले सन १९९८ मा १ रुपैयाँ मूल्यको हुलाक टिकट जारी गरेको थियो ।
चेम्जोङको जन्म १९०४ जनवरी १ तारिख निधन सन् १९७५ मा भएको थियो । उनले सन १९२५ मा किरात याक्थुङ चुम्लुङ गराई पहिलो पटक लिम्बू समुदायको सङ्गठन निर्माण गरेका थिए । उनको अखिल लिम्बूवान चुम्लुङ सभाको प्रतिनिधि मण्डलले २०१४ सालमा राजा त्रिभुवनसँग भेटी भाषा, संस्कृति सम्बन्धी १६ बुँदे मागपत्र बुझाएको थियो ।
इमानसिंहको प्रकाशित पुस्तकहरूमा किरातको वेद किरात मुन्धुम सन १९३१, किरात इतिहास सन १९४८, किरात साहित्यको इतिहास सन १९५५, किरात दन्त्यकथा सन १९६१, लिम्बू, नेपाल, अङ्ग्रेजी शब्दकोश सन १९६१ छन् ।
यस्तै किरात मुन्धुम खाहुन सन १९६५, याक्थुङ चुक्मुक साम्जीक मुन्धुम किरात दर्शन सन १९६९, लेप्चा, नेपाली, अङ्ग्रेजी शब्दकोश सन १९७४, किरातकालीन विजयपुरको इतिहास सन १९७४, द किरात ग्रामर लिम्बू सन १९७०, हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपुल सन १९६७, किरात प्राथमिक पाठ्यपुस्तक सन १९८२ प्रकाशित छन् ।