धरान : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्न हतार नगर्ने, देशभरका जनताको कुरा सुनेर मात्र दल दर्ता गर्ने कुरा बताएका छन् ।

कारबाहीमा परेपछि छुट्टै पार्टी खोल्न लागेको चर्चामा रहेका नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् ।

नेता रावलले पार्टी माध्यम हो पार्टी भन्दा माथि देश हुने बताउँदै भने ‘पार्टी फुट्छन् जुट्छन्, नेपाली हामी रहन्छौँ ।’ शक्ति जनतामा हुने बताउँदै उनले अहिले मातृभूमि जागरण अभियान गर्दे धरान सम्म आएको बताए । उनले भने ‘देशभरी गएर जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्नेछु ।’

उनले नेकपा एमालेको कटु आलोचना गर्दै एमाले पार्टी होइन अब बामाले पार्टी भएको बताउँदै भने ‘उहिले मात्र पार्टी नेकपा एमाले रहेको थियो तर अहिले बामाले भएको छ ।’

एमाले पार्टीको अहिले रङ्ग खुइलिएर बामालेमा परिणत भएको उनको भनाई छ । अहिले अध्यक्ष ओलीले सत्ताको दुरुपयोग र अनैतिक राजनीति गर्दे पार्टीमा ‘बा’ शब्दलाई शक्तिशाली बनाएको नेता रावलले बताए ।

उनले भने ‘ओलीले पार्टीका नेता कार्यकर्ता बिच भ्रमको खेती गर्दे व्यक्तिवादी सोच हाबी गरेर बामाले पार्टी बनाएका छन् ।’ बामाले भनेको बाको मात्र नाम लिने हो ।

रावलले एमाले पार्टीको बिचार सिद्धान्त, एजेण्डा नीति नियमलाई थाती राख्दै पाटी अध्यक्ष ओलीले ठट्टा र उखान टुक्काले पार्टी र देश चलाएको बताए । आफूले उठाएको सत्यतथ्य कुरा खण्डन गर्न नसकेपछि एमाले नेताहरूले लुरे तर्क गर्न थालेको बताए ।

उनले कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । भने ‘विचार सिद्धान्त विनाका पार्टीसँग सत्ता गठबन्धन गरेर काले काले मिलेर खाउँ भाले काम गरेका छन् ।’

सत्ता गठबन्धन गरेर र सरकारमा रहेका पार्टीहरूले सत्ताको दुरुपयोग र अनैतिक राजनीतिद्वारा जनताहरूलाई भ्रमको खेती गरिरहेको उनले आरोप लगाए ।

Dr.-Vhim-Rawal-1 1