धरान : सहारा सहकारी संस्था लिमिटेडले साकोस सदस्य रहेकी चुराकुमारी राई र मन्दिरा खड्कालाई श्रीमानको निधन भएकोले उनीहरूले लिएको ऋण मिनाहा गरिदिएको छ ।
चुराकुमारीको श्रीमान बलराम राईको असामयिक निधन भएकोमा ४ लाख ८५ हजार ऋण मिनाहा पाएकी छन् भने मन्दिरा खड्काले लिएको ऋण १ लाख रुपैयाँ उनको श्रीमानको निधन भएकोले मिनाहा पाएकी हुन ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभाको अवसरमा श्रीमान निधन भएकी सदस्यद्धयको ऋण मिनाहा भएको घोषणा गरिएको हो ।
सोही अवसरमा सहाराका ज्येष्ठ नागरिक सदस्य र एकल महिला सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गरियो ।
धरान-८ का वडाध्यक्ष धनबहादुर राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा सहकारीको धरान सेवा केन्द्र संयोजक हरिनारायण बास्कोटाको अध्यक्षतामा भएको थियो ।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी कुल २ अर्ब, बचत १५ अर्ब र ऋण लगानी १४ अर्ब पुर्याउने लक्ष्य राखिएको छ । दिगोपना कोष वृद्धि गरी २ अर्ब पुर्याएर सदस्यहरूलाई सामाजिक सुरक्षा योजनाका सेवा उपलब्ध गराउने प्रतिवेदनमा उल्लेख छ ।
पूर्वाञ्चल ज्ञान्चक्षु विद्यालयको सभाहलमा शनिवार भएको साधारण सभामा पिन्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, ज्ञानचक्षु विद्यालय प्रधानाध्यापक प्रमोद भण्डारी, केन्द्रीय कार्यालयका उप निर्देशक दिनेश बहादुर निरौला लगायतले शुभकामना प्रकट गरेका थिए ।