धरान : वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१९ का २१ वर्षीय रोहित कार्की, १९ वर्षीय अनुराग राई, उदयपुर त्रियुगा-१२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादवलाई लागुऔषध सहित आइतबार पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ६०० ट्याब्लेट प्रतिबन्धित लागुऔषध स्पासपेन र ट्रमाडोल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैबिच इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१३ का ४२ वर्षीय कुमार राईले लागुऔषध स्पास्मो १५६ क्याप्सुल, स्कुफ कफ सिरप २ बोतल सहित पक्राउ गरेको छ ।

त्यसैगरी उदयपुर जिल्ला प्रहरीले त्रियुगा-११ का २० वर्षीय अभिषेक कार्की, त्रियुगा-१२ का १९ वर्षीय रिजन राई र त्रियुगा-१० का २३ वर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित पक्राउ गरेको छ ।

झापामा इलाका प्रहरी कार्यालय दमकले दमक-८ का २२ वर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित पक्राउ गरेको छ ।

तेह्रथुमको लालीगुराँसका ३२ वर्षीय विकाश श्रेष्ठ र २६ वर्षीय राजिव सम्बहाम्फेलाई प्रहरी चौकी सिधुवा धनकुटाले २१० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

धनकुटा हिलेका २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।