इटहरी : इटहरी उपमहानगरपालिकामा कर्मचारी भर्ती केन्द्र बनेको आरोप भइरहेको बेला अझै अभाव देखिएको छ । हाल कायम रहेका कर्मचारीमा थप ४५० पूर्ति गर्नुपर्ने उपमहानगरको रातो किताबमा उल्लेख छ ।
उपमहानगरको कर्मचारी सङ्गठन संरचनामा ११ सय कर्मचारी आवश्यक ठहर्याइएको छ । इटहरी उपमहानगरपालिकामा हाल २३५ स्थायी, ५ अस्थायी, १९९ करार, १३० मासिक ज्यालादारी, ४२ दैनिक ज्यालादारी गरी ६११ कर्मचारी कार्यरत छन् । त्यस बाहेक इटहरी अस्पतालमा पनि सयको हाराहारीमा स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरू छन् ।
चालु आर्थिक वर्ष भित्रमा १८ जना विद्यालय र २० जना सामुदायिक गरी ३८ नर्स भर्ना भएका छन् । सहचालक ५ जना, विद्युतीय बस चालक चार जना, अग्नि नियन्त्रक चार जना पनि भर्ती भएका छन् । सामुदायिक स्वास्थ्य अधिकृत, भारी सवारी चालक, मिनी ट्रिपर चालक, मोटर ग्रेड अपरेटर एक/एक जना गरी ५ जनालाई उपमहानगरपालिकाले नियुक्ति दिइसकेको छ ।
रातो किताबमा उल्लेख भए अनुसार प्रशासनका अधिकृत नवौँ/दशौँ तीन जना अभाव देखिएको छ । सिभिल इन्जिनियर सात जना र वातावरण इन्जिनियर एक जना अपुग छन् । स्ट्रक्चरल इन्जिनियर पनि ५ जनाको दरबन्दी खाली छ । भारी सवारी चालक मात्र १७ जना खाली छन् । विविधका सहायक कम्प्युटर अपरेटर मात्र ४७ जना भर्ना गर्नुपर्ने देखिन्छ ।
श्रेणी विहीन प्लम्बर १०, हलुका सवारी चालक ११ र नगर प्रहरी हवलदार आठ जना, अग्नि नियन्त्रक हवलदार ६, प्रहरी जवान २४, अग्नि नियन्त्रक सिपाही २०, कार्यालय सहयोगी १२, सफाइ कर्मी १३ र फूल माली १७ जना आवश्यक छन् ।
वरिष्ठ पशु विकाश अधिकृत देखि पशु सेवा प्राविधिक सम्मका कोटा खाली छन् । वडाका पशु सेवा प्राविधिकको पद समेत रिक्त रहेको छ । वरिष्ठ कृषि विकास अधिकृत र वरिष्ठ जनस्वास्थ्य प्रशासन लगायत पद रिक्त छन् । जनरल फिजीसियन एक जना र मेडिकल अफिसर ४ जनाको पद रिक्त छ ।
इटहरी अस्पतालको लागि जनस्वास्थ्य निरीक्षकको ५ जना पनि रिक्त छन् । अस्पतालमै कार्यालय सहयोगी १७ र सफाइ कर्मी १५ गरी ७४ जनाको पद खालि रहेको जनाइएको छ । स्वास्थ्य चौकी हाँसपोसा, खनार, पकली एकम्बाको लागि ११ कर्मचारी अभाव छ ।
इटहरी उपमहानगरपालिका प्रशासनका अनुसार कर्मचारी अभावले कार्यसम्पादन प्रभावित बन्दै गएको छ । कतिपय वडामा कम्प्युटर अपरेटर नभएको कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको प्रशासनले जनाएको छ । प्राविधिक तर्फका कर्मचारी थप गर्ने विषयमा कार्यपालिका बैठकबाट निर्णय हुन नसकेपछि उपमहानगरमा मौजुदा कर्मचारीबाटै काम गर्नुपर्ने भएको छ ।