इटहरी : सुन्दरहरैँचा नगरपालिकाकाको महत्त्वपूर्ण आयोजना मानिएको गोठगाउँ-विश्वविद्यालय र महेश्वर मार्ग-लाटीझोडा सडक निर्माणका ढिलासुस्ती भएको छ । समयमै सडक निर्माण नहुने सम्भावना भएपछि विश्व बैकको सहयोग फिर्ता जाने सम्भावना बढ्दै गएको हो ।
विश्व बैकको सहुलियत पूर्ण ऋण सहयोगमा सुरु भएको आयोजनाको काम सम्पन्न नभएपछि रकम फिर्ता जान लागेको हो । दुवै सडक निर्माणको लागि गत पुसमा ठेक्का आह्वान भएपछि बानिया एण्ड लामा जेभीले ४५ करोड ८५ लाख ३२ हजारमा आयोजना जिम्मा पाएको हो । जसमध्ये दुई करोड बढी रकम निर्माण कम्पनीले भुक्तानी पाएको छ । असार सम्ममा निर्माण कार्य सम्पन्न हुने सम्भावना कम भएपछि बाँकी रकम फिर्ता जाने भएको हो ।
दुवैतर्फ ड्रेन सहित अस्पाल्ट कालोपत्रे गर्ने जिम्मा पाएको बानिया एण्ड लामा जेभीले समयमै काम सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेको छ । सम्झौताको समयमा पेस गरेको कार्य तालीका अनुसार काम नभएको नगरपालिकाले जनाएको छ । सोही अनुसार २०८२ असार २० सम्ममा काम सक्नुपर्ने भए पनि सो अनुसार काम भएको पाइँदैन ।
महेश्वर सुब्बा मार्गको ५ किलोमिटर ७५ मिटर सडक ५ र ६ नम्बर वडाको सिमानामा पर्ने लाटीझोडा सम्म पर्छ । गोठगाउँ देखि पूर्वाञ्चल विश्वविद्यालय सम्मको ४ किलोमिटर ७३७ मिटर सडक पनि सोही आयोजनामा समेटिएको छ ।
२०८१ वैशाख १० गते भएको सम्झौता अनुसार काम नभएको सुन्दरहरैँचा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बताए । उनका अनुसार काम धेरै ढिला भएको र बारम्बार ताकेता गर्दा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको हो । नेपाल सरकार र विश्व बैङ्क बिचको सम्झौता अनुसार नै समयमा काम सम्पन्न नभए पैसा फिर्ता जाने उनको भनाइ छ ।
गत भदौ १८ गते नगरपालिकाले निर्माण कम्पनीलाई म्याद थप नहुने अवगत गराउँदै पत्राचार गरेको छ। विश्व बैङ्कको सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगतको आयोजनाको काम भइरहेको छ ।
आयोजनाका विज्ञ इन्जिनियर अमित गुप्ताले आफूहरू निरन्तर लागि रहेको हुँदा निर्माण कम्पनीले अब द्रुतगतिमा काम गर्ने बताए । यस बिचका समन्वय भइरहेको हुँदा सकेसम्म चाँडो काम सम्पन्न गर्ने गरी दबाब सृजना गरिएको उनको भनाइ छ ।
निर्माण कम्पनीका इन्जिनियर ऋषभ भण्डारीका अनुसार थप प्रविधि र जनशक्ति परिचालन गरेर कामको रफ्तार बढाइएको छ । धेरै टोली परिचालन गरेको बताउँदै उनले विश्वविद्यालय आसपासको सडकलाई पहिलो चरणमा सकेर महेश्वर सुब्बा मार्गको काम थाल्ने उनले बताए ।
सुरुवातमा निर्माण कम्पनीले स्थानीय सब-कन्ट्याक्टरबाट काम गरे पनि हाल आफैले जिम्मा लिएको छ । सब-कन्ट्याक्टरहरु काम गर्न नसक्ने बताउँदै बाहिरिएपछि निर्माण कम्पनी समस्यामा परेको हो ।