धरान : धरान रङ्गशालामा आज बिहीबार देखी घरायसी किनमेल, उद्योग व्यापार, सांस्कृतिक मनोरञ्जन सहितको ‘धरान एक्स्पो २०८१’ सुरु हुँदैछ । एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको हो ।

१० दिनसम्म चल्ने एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका १५० वटा स्टलहरू छन् । स्टलहरूमा घरायसी सामग्री, उपभोग्य वस्तु सहित भारत, चीन, बङ्गलादेशका उत्पादनहरू सुपथ मूल्यमा पाइने बताइएको छ ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने, मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, तथा अन्य विविध कार्यक्रमहरू समावेश गरिएको छ ।

उनका अनुसार एक्सपो कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो । एक्सपोको उद्घाटन उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नेछन ।

एक्स्पोको पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईको साङ्गीतिक प्रस्तुति हुनेछ । उनका सर्वाधिक लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायत हिट गीतहरू प्रस्तुत गर्नेछिन् ।

अध्यक्ष श्रेष्ठले एक्स्पोले स्थानीय उद्यमीलाई उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । उनले भने, ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउन र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्न एक्सपो आयोजना गरिएको हो ।’

सङ्घका वरिष्ठ उपाध्यक्ष एक्सपोका संयोजक गोपाल श्रेष्ठले भने ‘यो केवल किनमेल र मनोरञ्जनको थलो मात्र होइन, धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउने अभियान हो ।’