इटहरी : आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसक्दा बिहीबार स्थगन भएको चयन प्रक्रिया शुक्रवार निर्वाचनबाट टुङ्गो लगाइएको छ ।

नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष बाहेक कार्यसमिति सर्वसम्म भए पनि अध्यक्ष पदमा सुनिल चौधरी र भोला श्रेष्ठले दिएको उम्मेदवारी दुवैले फिर्ता नलिएपछि सहमतिको प्रयास विफल भएको थियो ।

निर्वाचन समितिका संयोजक फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाका अनुसार फोनिज अगुवाहरूको परामर्श अनुसार दुवै प्रत्याशीलाई ३ वर्षको पदावधि डेढ/डेढ वर्ष आलोपालो अध्यक्ष रही चलाउने विकल्प प्रस्तुत गर्दा पनि सहमति हुन सकेन ।

उक्त विकल्प अस्वीकार गर्दै अध्यक्षका प्रत्याशी भोला श्रेष्ठको पक्षमा नेवा: पत्रकार दबुले चयन प्रक्रिया बहिस्कार गर्दै फोनिजबाट अलग भएको विज्ञप्ति जारी गरी अधिवेशन स्थलबाट बाहिरिएको थियो ।

चयन प्रक्रिया बहिस्कार गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भोला श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिएनन् ।

अध्यक्ष पदमा २ जनाको उम्मेदवारी यथावत् रहेकाले नेवा: पत्रकार दबुका भोजराज श्रेष्ठ समेत सदस्य रहेको निर्वाचन मण्डलले मतदानद्वारा नयाँ अध्यक्ष चयन गर्ने निर्णय गर्दै अँध्यारो भएकोले मतदान प्रक्रिया शुक्रवार बिहान गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार आज शुक्रवार भएको मतदानमा थारु पत्रकार सङ्घका सुनिल चौधरी ४६ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन प्रक्रिया बहिस्कार गरेका भोला श्रेष्ठलाई २ मत परेको थियो । कुल ११४ मतदाता मध्ये ४९ मत खसेको थियो । १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि बिहीबार भएको उम्मेदवारी दरखास्त प्रक्रियामा कार्यसमिति र केन्द्रीय तथा प्रदेश परिषद् सदस्यहरू निर्विरोध भएका थिए ।

निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्ष हिमाल राई, सचिव प्रमीला राई, सहसचिव रश्मि प्रधान, कोषाध्यक्ष स्वर्णिम राई छन् ।

सदस्यहरूमा संस्थागत बुद्धहाङ लिम्बु, सचिन राई, महिला सदस्य स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु, खुला शैलेन्द्र चौधरी, धनराज राई र सरिता चौधरी छन् ।

प्रदेश परिषद् सदस्यहरू कमला चौधरी, श्रवण चौधरी, मेनुका बम्जन, सोहन श्रेष्ठ, नरबहादुर लिम्बु प्रदीप मेन्याङबो, हिन्दुहाङ राई, विशाल राई, यशोदा सेने, राजकुमारी चौधरी, सुक्रान्त राई, चन्द्रबहादुर पोमो, सप्रिया राई छन् ।

केन्द्रीय परिषद् सदस्यहरूमा महेश श्रेष्ठ, भोजराज श्रेष्ठ, धिरेन्द्रकुमार चौधरी, कुलदिप चौधरी, गोपाल देवान, निलिफा सुब्बा, सुन्नीमा राई, जनकऋषि राई, उपेन्द्र चाम्लिङ, श्रीशिशा राई, प्रदीपकुमार चौधरी बासमैत छन् ।

यसअघि बिहीबार अधिवेशन आयोजक समितिका संयोजक महेश श्रेष्ठको सभापतित्वमा उद्घाटन समारोह र खुल्ला सत्र निर्विवाद भएको थियो । प्रमुख अतिथि रामधुनी नगर प्रमुख प्रदीपकुमार चौधरी थिए । पुरानो कार्यसमितिमा विवाद भएको कुरा उल्लेख सहित आयोजक सदस्य भोजराज श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निवर्तमान कार्यसमितिका अध्यक्ष नवीन गुरुङ अधिवेशनमा उपस्थित भएनन् । उनीसँग कार्यसमितिको विवाद चल्दै आएकोले ३ वर्षको पदावधिमा विवादास्पद रहेकाले प्रदेश समितिले हस्तक्षेप गरी महेश श्रेष्ठको संयोजकत्वमा आयोजक समिति गठन गरी जिल्ला अधिवेशन आयोजना गरेको हो ।

अधिवेशनको निर्वाचन मण्डलमा प्रदेश अध्यक्ष सन्तवीर लामा, केन्द्रीय सदस्य दिपीन राई, प्रदेश सचिव प्रदीप चौधरी, अधिवक्ता शुकदेव चौधरी, आयोजक समिति सदस्य भोजराज श्रेष्ठ थिए ।

fonij-sunsari-2