धरान : गृहमन्त्री रमेश लेखकले मुलुकमा अहिले लागुऔषध दुर्व्यसन, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौती रहेको बताएका छन् ।

पछिल्ला समय लागुऔषध दुर्व्यसनको स्थिति भयावह बन्दै गएको बताउँदै न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन जरुरी भएको उनले बताए । गृहमन्त्रीले भने ‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ ।’

महेन्द्रनगरमा आज शुक्रवार एनप्याबसन कञ्चनपुरको खेल महोत्सवमा उनले भने ‘लागु औषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालनै चलाउनु पर्ने भएको छ, एनप्याब्सनले विद्यालयबाटै सुरुवात गरोस् ।’

उनले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै भने ‘त्यसै गरी सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढ्न तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ ।’

शिक्षाको गुणस्तरसँग सम्झौता नगर्ने, चर्को शुल्क लिने कुरामा सरकारले कडा रूपमा नियमन गर्ने बताए । उनले भने ‘सङ्घीय संसद्मा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको छ।’

शिक्षा विधेयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निर्माण गर्ने कार्यमा लागेको बताउँदै मन्त्री लेखकले शिक्षालाई सुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्ने दिशामा सरकार अग्रसर रहेको बताए ।