धरान : धनकुटा जिल्ला पाख्रीबास-३ मा बिहीबार राती बोलेरो पिकअप भीरबाट खस्दा चालक र सहचालकको मृत्यु भएको छ ।

पाख्रीबासबाट हिले जाँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको कोसी प्रदेश प्रहरीले जनाएको छ ।

रातको ९ बजेको समयमा भएको दुर्घटनामा पिकअपका सहचालक सिराहा लहानका २४ वर्षीय प्रमोद मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

पिकअपका चालक पाख्रीबास-९ का ३९ वर्षीय शुक्रबहादुर तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।